News Portal

धुलाबारीमा शुरु भयो मेची महोत्सव

रातोपोस्ट संवाददाता
७२ पटक

मेचीनगर, ४ माघ । स्थानीय उत्पादनको बजारीकरण तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले झापाको धुलाबारीमा दोस्रो मेची महोत्सव २०८१ शुरु भएको छ ।

मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गरेको महोत्सवको शुक्रबार एक समारोहका बीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी छिन् । महोत्सव परिसरमा पानसमा दियो बाल्दै उनले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख राना मगरले यस किसिमको महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पुग्ने बताइन् । मेचीनगर क्षेत्रका कृषि उपज र उद्योगीहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका साथै स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि शुरु भएको महोत्सव माघ १२ गतेसम्म चल्नेछ ।

महोत्सवमा ३६ वटा स्टल छन् भने महोत्सव अवधिभर स्वास्थ्य शिविर, कृषि उपजको प्रदर्शनी तथा बिक्री, विभिन्न जातजातिको झाँकी प्रस्तुति, गीतसंगीत क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, विभिन्न खेलकुद र मेचीनगरका पर्यटकीय क्षेत्रको प्रवद्र्धन कार्यक्रम समेत राखिएको छ ।

चेम्बर अफ कमर्शका झापा जिल्ला अध्यक्ष ओमकृष्ण बिमली, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास), मेचीनगर नगरपालिका वडा नं १० का वडा अध्यक्ष नारायण खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । चेम्बर अफ कमर्श मेचीनगरका अध्यक्ष रविन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए भने स्वागत उपाध्यक्ष शान्तिराम चिमरियाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्