News Portal

चीनमा रहेका नेपालीलाई लिन भोलि पौने ३ बजे नेपालबाट विमान उड्ने

रातोपोस्ट संवाददाता
५२२ पटक

काठमाडौं। काेरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने जानकारी दिइन् ।

विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको प्रवक्ता खड्काले बताइन् ।

चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने उनले बताइन् ।

विमान पर्सि बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ ।

खरिपाटीमा क्वारेन्टाइन तयार

वुहानबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्न भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन तयार पारिएको छ ।

चीनबाट ल्याइने १८५ जनालाई क्वारेन्टाइनमा राख्ने गरी तयारी भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता सागर ढकालले जानकारी दिए । उनीहरूलाई प्रोटोकलअनुसार मिलाएर राखिने पौडेलको भनाइ छ ।

कोरोना प्रभावित क्षेत्रबाट ल्याउन लागिएका नेपाली नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यहाँ उनीहरूलाई चिकित्सकले निरन्तर निगरानी गर्नेछन् ।

वुहानबाट ल्याउन लागिएकाहरूमा कोरोना भाइरसको संक्रमण पाइएको छैन, तर १४ दिनसम्ममा संक्रमण देखिन सक्ने सम्भावना पनि हुने भएका कारण उनीहरूलाई क्वारेन्टाइनमा राख्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्