News Portal

महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरणको जाहेरी दर्ता

रातोपोस्ट संवाददाता
७६९ पटक

काठमाडौं । नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएको छ ।

समाजवादी जनता पार्टीका सांसद डा। सुरेन्द्र यादव अपहरणको जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, बबरमहलमा दर्ता भएको हो ।

यसअघि यादवसहित समाजवादी जनता पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगे पनि जाहेरी दर्ता भएको थिएन । तर, सोमबार अपहरको जाहेरी दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

यसअघि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।

लकडाउनको समयमा महोत्तरीस्थित निवासमै आएर उनीहरुले आफूलाई काठमाडौं ल्याएको यादवको आरोप छ । तर, बस्नेत र खनालले आफूहरुले अपहरण गरेको नभई यादव राजीखुसी आएको बताएका छन् । होटल म्यारियटमा आफूलाई राखिएको र त्यहाँबाट भाग्न सफल भएको बताएका यादवले पार्टी फुटाउने प्रयोजनका लागि आफुलाई दबाब दिइएको र अपहरण गरेको जिकिर गर्दै आएका छन् । गत वैशाख १० गते यादवलाई काठमाडौं ल्याइएको थियो ।

यसैबीच सोमबारै अपहरणको आरोप लागेका सांसद बस्नेत र श्रेष्ठ र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

उनीहरुले जनता समाजवादी पार्टीका सांसद यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन् ।
आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा खनालले अपहरण गरेको भन्दै आफ्नो मानवअधिकार रक्षा गरिदिन माग गर्दै यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

प्रतिकृया दिनुहोस्