News Portal

थप २० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

रातोपोस्ट संवाददाता
४६५ पटक

काठमाडाैं। कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको छ।

सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको हो। योसहित संक्रमितको संख्या ५०७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका तीनजना, बैतडी र डडेल्धुराका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमित देखिएका छन्। उनीहरू तीनैजना सरस्वती माविको क्वारेन्टाइनमा थिए।

त्यस्तै डडेल्धुराको पर्शुराम नगरपालिकाका २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ गाउँपालिका २२ वर्षीय पुरुष हुन्। त्यस्तै भेरी अञ्चल अस्पताल बाँकेमा गरिएको परीक्षणमा बाँकेमा थप १४ जनामा संक्रमण देखिएको छ।

उनीहरूमध्ये १३ जना बाँकेको नरैनापुर गाउँपालिकाका हुन् भने एकजना राप्ती सोनारी गाउँपालिकाका हुन्। उनीहरू १८ देखि ६१ वर्षका पुरुष छन्। मोरङको रतुवामाइका ४१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको बैतडी र डडेल्धुरामासमेत संक्रमण देखिएसँगै संक्रमित हुने जिल्ला ४० पुगेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ८५, २ मा १५१, बागमतीमा २८, गण्डकीमा ५, प्रदेश ५ मा २२७, कर्णालीमा १ र सुदूरपश्चिममा १० जना संक्रमित पुष्टि भइसकेका छन्।

प्रतिकृया दिनुहोस्