News Portal

नेकपाको स्थायी कमिटी बैठक सुरू

रातोपोस्ट संवाददाता
४८५ पटक

काठमाडौं, असार १३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज तेस्राे दिन पनि जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहाकार विष्णु सापकोटाले दोस्रो दिनको बैठक सुरु भएको र आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेको जानकारी दिए। बालुवाटारमै बसेको हिजोको बैठकमा प्रधानमन्त्री सहभागी थिएनन्।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री नै बैठकमा सहभागी नभएपछि हिजोको स्थायी कमिटीको बैठकमा बोल्ने सदस्यहरूले प्रधानमन्त्री बैठकमा किन सहभागी नभएको भन्दै प्रश्न गरेका थिए।

महासचिव विष्णु पौडेल मार्फत् ओलीले आफू सरकारका अन्य काममा व्यस्त रहेको भन्दै अन्तिमसम्म भएपनि सहभागी हुने खबर पठाएका थिए। तर, अन्तिमसम्म पनि हिजोको बैठकमा प्रधानमन्त्री सहभागी भएनन्।

दोस्रो दिनको बैठकमा सदस्यहरूले सीमा समस्या, कोभिड–१९ को संक्रमण, रोकथाम र उपचारमा भइरहेको काम र सरकारले गरेका कामका बारेमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।

असार १० गते उद्घाटन गरिएको स्थायी समितिको बैठकले सातवटा कार्यसूची तय गरेको थियो। नेकपाको स्थायी कमिटीको बैठकमा तिनै कार्यसूचीमा छलफल चलिरहेको छ।

हिजोको बैठकको प्रारम्भमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि पटक–पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए। नेकपाले बनाएको कार्यसूचीमा एमसीसी परियोजनाको छलफललाई भने अन्तिमतिर राखिएको छ।

प्रतिकृया दिनुहोस्