![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाडौं, असार २५ । नेपालमा भारतीय टेलिभिजनहरुको प्रसारण बन्द गरिएको छ। विदेशी च्यानलहरु वितरण गर्ने कम्पनीहरुले आज रातिदेखि दूरदर्शनबाहेक अन्य सबै भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन्।
यी कम्पनीहरुले स्वतस्फुर्त रुपमा यस्ताे निर्णय लिएका हुन्। केही केबल टेलिभिजनहरुले भने प्रसारण राेकेका छैनन्। भारतीय टेलिभिजनहरुमा नेपालबारे भ्रामक सामग्रीहरु प्रसारण हुन थालेपछि नेपालका अपरेटरहरुले त्यस्ता न्युज च्यानलहरुको प्रसारण नै बन्द गर्ने निर्णय गरेका हुन्।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भ्रामक सामग्री प्रसारण गर्ने भारतीय सञ्चारमाध्यमविरुद्ध कडा कदम चाल्नुपर्ने धारणा राखेका थिए। केही दिनअघि भारतको जी न्युज टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्धबारे भ्रामक सामग्री प्रसारण गरेको थियो।
लिपुलेक-कालापानी क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गर्ने भएपछि नेपालविरुद्ध खनिन थालेका भारतीय मिडिया अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध व्यक्तिगत आक्षेपको स्तरमा उत्रिएका छन्।
पछिल्लो समय भारतीय मिडियाले काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई समेत आपत्तीजनक तरिकाले चित्रण गरिरहेका छन्।नेपालसँग सीमा विवाद भएपछि भारतीय न्युज च्यानलहरुले यस्ता थुप्रै भ्रामक समाचारहरु प्रसारण गर्दै आइरहेका छन्।