News Portal

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५४८ पटक

जाजरकोट, साउन १३ । जंगली च्याउ खाएर गम्भीर बिरामी परेका जाजरकोटका एकै परिवारका थप तीनजना बालबालिकाको मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै परिवारका तीनजना बालबालिकाको उपचारको क्रममा मंगलवार सुर्खेतमा मृत्यु भएको हो।

यसअघि सोमबार गाउँमै एकजना बालिकाको मृत्यु भएको थियो। गएको ९ साउनमा जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका टेकबहादुर चलाउनेसहित उनको परिवारका ८ जना बिरामी परेका थिए।

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए।

विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाको खर्चमा नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो। बिरामी परेका अन्य एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा. पौडेलले जानकारी दिए।

“ढिलो उपचार गर्दा विषालु च्याउले धेरै असर गरिसकेको थियो,” डा. पौडेलले भने, “जति कोसिस गर्दा पनि बचाउन सकिएन।” घरमुली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित चलाउने, ३० वर्षीय बुहारी कल्पना चलाउने, छोरी पशुपति चलाउनेको अहिले सुर्खेतमै उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्