News Portal

आज मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर ईद मनाउँदै, घरमै बसेर नमाज पढ्न आग्रह

रातोपोस्ट संवाददाता
१५६९ पटक

काठमाडौं, साउन १७ । आज इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर ईद मनाइँदै छ । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरु बताउँछन् ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर कोरोना भाइरस संक्रमणको जोखिम भएकाले घरमै बसेर नमाज पढ्न राष्ट्रिय मुस्लिम आयोगले सबैलाई आग्रह गरेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ।

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । शनिबार पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारीमा जुटेका छन् ।

प्रतिकृया दिनुहोस्