News Portal

अविश्‍वास प्रस्तावले कर्णाली प्रदेशमा नेकपाभित्र बबन्डर, मुख्यमन्‍त्रीले हटाए मु्ख्य सचेतक

रातोपोस्ट संवाददाता
१०६८ पटक

सुर्खेत,२६ असाेज।  कर्णाली प्रदेशका मुख्यमन्‍त्रीविरुद्ध आफ्नै दलका सांसदहरूले अविश्‍वास प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको आन्तरिक कलहले जटिल मोड लिएको छ। संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन्।

नेकपाका बहुमत सांसदहरुले मुख्यमन्त्रीविरुद्ध आइतवार मात्र संसदीय दलका अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। मुख्यमन्त्री शाहीले कामकाज सन्तोषजनक नभएको भन्दै प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाइएको बताएका छन्। यसअघि संसदीय दलको नेताको हैसियतमा आफूले विधान अनुसार प्रमुख सचेतकमा शाहलाई नियुक्त गरेको र अहिले काम सन्तोषजनक नभएकाले हटाइएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएको छ।

कर्णालीका मुख्यमन्‍त्रीविरुद्ध नेकपा सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव
आइतबार बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि दलको विधानअनुसार प्रमुख सचेतक शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका थिए। त्यही बैठकबाट अविश्वास प्रस्तावबारे छलफल गराउने तयारी गरेका शाहलाई मुख्यमन्त्री शाहीले पदमुक्त गरेको बताइएको छ। साथै दलका सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ। शाह पूर्वएमालेबाट निर्वाचित हुन भने नेपाली पूर्वमाओवादीबाट निर्वाचित भएकी हुन्। योसँगै कर्णालीमा नेकपा संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ । (स्राेतः अन्नपुर्णपाेष्ट)

प्रतिकृया दिनुहोस्