News Portal

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणीको आराधना गरिँदै

रातोपोस्ट संवाददाता
९१३ पटक

काठमाडौं, २ कात्तिक ।  नेपालीको महान पर्व बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ।  ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ​

ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख भएको पाइन्छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणीदेवीको अनुकम्पा आवश्यक हुने बताइएको छ। ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ।​

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ ।

प्रतिकृया दिनुहोस्