News Portal

सुनिल थापा कांग्रेसको सहमहामन्त्रीमा मनोनीत

रातोपोस्ट संवाददाता
७९८ पटक

काठमाडौं, २८ कात्तिक । पार्टीभित्र विवादकै बीच संस्थापन पक्षले पूर्व राप्रपा समूहबाट कांग्रेस प्रवेश गरेका सुनीलबहादुर थापा नेपाली कांग्रेसको सहमहामन्त्री बनेका छन् ।

शुक्रबार बसेको कांग्रेसको बैठकले थापालाई सहमहामन्त्री बनाउने र उनको समूहका थप ९ जनालाई केन्द्रीय समितिमा ल्याउने गरी संख्या र पद टुंगो लगाएको हो। कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्री बनाउने पूर्वनिर्णय शुक्रबारको बैठकले अनुमोदन गरेको हो। एक जना सहमहामन्त्री, ६ जना केन्द्रीय सदस्य र ३ जना आमन्त्रित केन्द्रीय सदस्यसमेत गरी थापा समूहका १० जनालाई पद विभाजन गरिएको हो।

केन्द्रीय सदस्य हुनेहरूमा रामप्रसाद भट्टराई (मोरङ, विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा) किरण गिरी (काठमाडौं) र टि.एन. योगी (ललितपुर) छन् । यस्तै आमन्त्रित केन्द्रीय सदस्यमा दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली), राजेशबहादुर सिंह (कपिलवस्तु) छन्।

थापा समूहलाई कांग्रेस प्रवेश गराउने क्रममा उनको समूहका ७ केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय भएको थियो। तर शुक्रबारको बैठकले भने एक सहमहामन्त्री, ६ केन्द्रीय सदस्य र ३ जना आमन्त्रित सदस्यसहित दिने निर्णय गरेको हो। शुक्रबारको बैठकअघि सभापति शेरबहादुर देउवाले थापा पक्षलाई ९ जना मात्र केन्द्रीय सदस्य बनाउन संस्थापन इतरसँग छलफल गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

शीर्ष नेताहरु बीच चार घण्टाभन्दा बढी छलफल भएको थियो। निर्धारित बैठक नबसी नेताहरु आन्तरिक छलफलमा जुटेका थिए। नेता कृष्णप्रसाद सिटौला पक्षले महाधिवेशन कार्यतालिका पूर्ण आउनुपर्ने माग गरेका थिए। संस्थापन पक्षले क्रियाशील सदस्यता वितरण र नविकरण टुङ्ग्याएर मात्रै महाधिवेशनको पूर्ण कार्यतालिका ल्याउने पक्षमा देखिएको थियो।

शुक्रबारको बैठकले मंसिर महिना भित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउने निर्णय गरेको छ। सह महामन्त्री डा प्रकाश शरण महतले थापा समुहबाट आएकालाई पदिय जिम्मेवारी र क्रियाशील सदस्यताको विषयमा छलफल भएको जानकारी दिए। बैठकले सूर्य बहादुर केसीको स्थानमा मोहन प्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्