News Portal

मन्त्रिपरिषद् निर्णय सार्वजनिक, तीन सचिवको सरुवा

रातोपोस्ट संवाददाता
५१९ पटक

काठमाडौं, २४ मंसिर । सरकारले सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहतमा सारेको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषद बैठकले चरिकोट अस्पताल–दोलखा, मेथिनकोट अस्पताल–काभ्रेपलाञ्चोक र बज्रबाराही चापागाउँ अस्पताल–ललितपुरलाई प्रदेश मातहत रहने निर्णय गरेको हो । त्यस्तै, बकुलहर रत्ननगर अस्पताल–चितवन र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र–काठमाडौंलाई पनि प्रदेश मातहत रहने निर्णय गरेको छ । अब उक्त अस्पतालहरुको व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गर्नेछ ।

यसैबीच भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा भद्रपुर–७ झापाका डा. विष्णुदत्त पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यस्तै वारपाक सुलिकोट गाउँपालिका, गोरखाको जग्गा इलाका प्रहरी कार्यालय ताकुकोटको नाममा हस्तान्तरणको लागि स्वीकृति दिने निर्णय पनि गरेको छ । यसका साथै कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकाको नाम हेरफेर गरी दोधारा चाँदनी नगरपालिका कायम गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच सोही बैठकले ३ जना सचिवको सरुवा पनि गरेको छ । हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेललाई अतिरिक्त समूहमा सरुवा गरेको छ ।

त्यस्तै, अतरिक्त समूहमा रहेका गोकर्णमणि दुवाडीलाई प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै, यही मंसिर २३ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनाका प्रमुख सेनानी सगुन शम्सेर जबरा र सेनानी जयनन्द जोशीलाई अवकाशपूर्ण विषेश बढुवा गर्ने निर्णय गरेको छ ।साथमा महासेनानी सोवित बहादुर अधिकारीलाई हायक रथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्