News Portal

  • आजदेखि आन्तरिक उडान बन्द

    रातोपोस्ट संवाददाता
    १६९ पटक

    काठमाडौं, २० बैशाख । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह रूपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय भएको हो ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार मध्यरातदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले २२ वैशाख मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ । हाल, अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउनेले १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ । सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानलाई भने अनुमति दिने भएको छ । उच्चस्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले यसअघि हवाई उडान बन्द गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उसको सिफारिसअनुसार मन्त्रिपरिषद्ले हवाई उडान बन्द गरेको हो ।

    उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) बैठकले यसअधि १६ वैशाखदेखि साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले सो निर्णय अनुमोदन गर्दै थप एक साता बढाएर १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । सीसीएमसीले पहाडी जिल्लामा २ सय र सहरी जिल्लामा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउने जिम्मा सीडीओलाई सुम्पिएको थियो । उपत्यकामा हाल निजी तथा सार्वजनिक यातायात र खाद्यान्नलगायत अत्यावश्यकबाहेकका पसलसमेत बन्द छन् ।

    प्रतिकृया दिनुहोस्