News Portal

वडाध्यक्ष कार्कीले किसानलाई प्रोत्साहन गर्न गोठमै पुगेर गरिदिए पशुकाे बिमा

रातोपोस्ट संवाददाता
४१२ पटक

झापा, ६ असार । व्यावसायिक पशुपालन गरिरहेका शिवसताक्षी नगरपालिका ६ का अधिकांश कृषकको पशु बिमा गराइदिएपछि वडा कार्यपालिकासँग उनीहरू खुसी छन्। वडामा जुनसुकै योजना सञ्चालन हुन्छन् अन्य वडाभन्दा विल्कुलै फरक हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्। वडाध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन वृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि किसान पशुपालनमा आकर्षित भए। वडामा ‘एक घर एक पशु बिमा’ कार्यक्रम लागू भएको छ। यो कार्यक्रम जिल्लामा सम्भवतस् पहिलो हो। ‘वडाले चौपायाको बिमा गरेपछि अब गोठैभरि पशु पालेर आयआर्जन बढाइन्छ,’ स्थानीय ओमप्रकाश गुरुङ भन्छन्।

वडाले सार्वजनिक सूचना प्रकाशित गरेर ‘एक घर एक पशु बिमा’ कार्यक्रममा सहभागी हुन वडाका बासिन्दालाई आह्वान गरको थियो। वडाअध्यक्ष कार्कीका अनुसार वडाको यो कार्यक्रममा १६० घर परिवारका सदस्य सहभागी भएका छन्। सहभागी भएकामध्ये किसानले गाई, भैंसी, बाख्रा, बंगुर लगायतका पशुको बिमा गरेको वडा अध्यक्ष खुलालले बताए। पशुको बिमा गरेबापत लाग्ने शुल्क वडा कार्यलयले विम कम्पनीलाई भुक्तानी दिन्छ। शर्मिला विकले पालेको भैंसी डेढ लाख मूल्यको छ। पशु प्राविधिकको सिफारिसमा भैंसीको एक लाखको बिमा उनले गराइन्। १ लाख ५० हजारमा गत वर्षमात्र छिमेकीबाट किनेर ल्याएकी शर्मिलाको भैंसीले दिनमा १६ लिटर दुध दिन्छ।

दुई लिटर दुध घरमा खपत हुने र बाँकी १४ लिटर दुध बजारमा बिक्रीका लागि लैजाने गरेको उनले बताइन्। ‘यत्रो मूल्य हालेर भैंसी किनेको छु। कदाचित भैंसीलाई केही भइहाल्यो भने मेरो लगानी डुब्छ, उनले भनिन्, ‘रिस्क कभरका लागि बिमा गरेकी हुँ। बिमा गरेपछि कम्पनीले रिस्क व्यहोर्छ नि।’ वडाको ठगबस्तीका अधिकांश किसानका घरमा उन्नत जातका गाई छन्। २२ लिटरसम्म दुध दिने खालका गाई किसानले पालेका छन्। चन्द्रडाँगी बिउबिजन केन्द्रमा केही वर्ष पहिले नश्ल सुधारका लागि राखिएको बिउ साँढेका कारण बस्तीमा उन्नत जातका गाई पालन फस्टाएका छन्। उक्त बिउ साँढे यतिबेला मासिएको छ।

भानुभक्त निरौलाका घरमा होलिस्टेन क्रस जातको गाई छ। बजारमा ९५ हजारसम्म मूल्य पर्न जान्छ। शनिबार वडा कार्यालयबाट खटिएको टोलीले गाईको ७५ हजारको बिमा गर्‍यो। भानुभक्तले भने, ‘बिमा गरेबापतको लाग्ने शुल्क वडाले तिरिदिएपछि किसानको दुबै हातमा लड्डु पर्‍यो। न त बिमा रकम तिर्नुपर्‍यो किसानले राहत पाएका छन्।’ निरौलाका अनुासर, गाईको बिमा गर्नुहोस् भन्दै पहिला धेरै बिमा कम्पनी आएका थिए। कुरा नबुझिएपछि किसानले बिमा गरेनन्। निरौलाले भने, ‘वडाले कुरा बुझाएर आफैं बिमा गरिदिएपछि वडाको योजना हाम्रा लागि निकै फलदायी बन्यो।’

वडाका किसानले पालेका पशुको बिमा एनएलजी कम्पनीले गरिरहेको छ। कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले भने, ‘वडाका १६० पशुको बिमा भएको छ।’ पशुको स्वास्थ्य परीक्षण स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरेको वडा कार्यालयले जनाएको छ। वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बिमा गरिएको हो। यो कार्यक्रमका लागि वडाले चालु आर्थिक वर्षमा एक लाख बजेट वडा सिलिङबाट छुट्याएको थियो। त्यही रकमबाट योजना सञ्चालन भएको वडाअध्यक्ष कार्कीले बताए। उनका अनुसार किसानको हौसला र उत्साहले आगामी वर्षमा पनि यो कार्यक्रमले निरन्तरता पाउने छ।

गाउँ-गाउँमा वडाअध्यक्षसहित पशु बिमाका लागि बिमा कम्पनी किसानको गोठगोठमा पुग्ने गरेका छन्। घरघरै पुगेर वडाले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी गराउन थालेपछि किसान पनि पशु बिमाप्रति आकर्षित हुन थालेको वडाअध्यक्ष कार्कीले बताए। पशु बिमा गरेपछि एक वर्षभित्र पशु मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर दिन्छ। व्यावसायिक रूपमा पशुपालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नु पर्दैन। व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा धेरै प्रभावकारी भएको किसानको भनाइ छ।

बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनी घरमै पुगेर दाबी भुक्तानी दिने कम्पनीका एनएलजी कम्पनीका प्रतिनिधि नेपालले बताए। पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालनतर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दुध, दही मोहीमा आत्मनिर्भर बनाउनका लागि वडामा बिमा कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्ष कार्कीले जानकारी दिए। पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन्। बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेकोबारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ। मरेको पशु गाढेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिस पत्र कम्पनीमा पेश गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्