News Portal

सताक्षिधाम संरक्षणमा २५ वर्षदेखि बसिरहेको एउटा बस्तीकाे कथा

प्रविण अधिकारी
११३७ पटक

बर्खासँगै बर्षा झरीकाे आगमन अनि हरियाली डाडाकाडा प्राकृतिक रुपमा सुन्दर सताक्षीधाम आध्यात्मिक रुपमा जति महत्वपुर्ण मानिन्छ त्यतिकै यहाँको मनोरम दृश्यले बिज्ञानमा बिस्वास राख्ने युवापुस्ता समेतलाई आकर्षण गर्छ । धार्मिक तथा पर्यटन दुबै हिसाबले महत्वपूर्ण यो स्थलमा हरेक सालको नयाँ वर्ष , बालाचर्तुदशी, मागेसंक्रान्ति, महा-शिवरात्री, साउने मेला जस्ता विभिन्न चाडपर्व लगायतका अवसरमा निक्कै भिडभाड हुने स्थानमा पर्छ झापाको सताक्षीधाम । विगत २५ वर्षदेखि निरन्तर धामकाे सरसफाइ तथा संरक्षण गरेर बसिरहेकाे छ एउट बस्ती । यस पवित्र धार्मिक तथा पर्यटकीय स्थलकाे संरक्षणमा रहेको यो बस्तीले धेरै भेल,  बाढी र बर्खा खपिसकेकाे छ।

चुरेको फेदिमा रहेको यो महत्वपुर्ण धार्मिक स्थल भु-क्षय, बाढी-पहिरो, कटान जस्ता प्राकृतिक जोखिमबाट भने अछुतो रहन सकेको छैन। पछिल्लो समय बढ्दो चुरे दोहन, नदिजन्य पदार्थको मापदण्ड विपरीत उत्खनन , जंगल फँडानीलगायतका कारण अझै जाेखिम बढ्दै गएकाे देखिन्छ । झिलझिले बजारबाट सताक्षीधामसम्मको बाटो, सताक्षीधाम आसपास रतुवामाई सामुदायिक बन क्षेत्र समेत बर्सेनि लाग्ने धरधरेका कारण जोखिममा रहेको छ ।

भु- विशेषज्ञहरूका अनुसार चुरे आसपास मेची देखि महाकालीसम्म बलौटे माटोको कारण यस्तो हुने गरेको हातमा झाडु लिएर बिछ्याइएको टायल सफा गरिरहेका स्थानीय जीवन राई बताउँछन् । “यसरी प्राकृतिक रुपमा हुने जोखिमबाट उक्त धार्मिक तथा पर्यटकीय स्थल बचाउनको लागि सम्बन्धित पक्षको ध्यानाकर्षण हुन जरुरी रहेको र यस क्षेत्रकाे संरक्षणका लागी आफुहरू बिगत देखि नै सचेत रहेको स्थानीय बासिन्दा डम्बर बहादुर थापा बताउँछन् ।”

“हरेक कुराको समय आए जस्तै सताक्षीधाम क्षेत्रमा बिकाशको हिसाबले जवानी आएको सरसफाइमा व्यस्त रहेका स्थानीयहरू बताउँछन्। अहिले स्थानीय निकाय,  प्रदेश सरकार र संघिय सरकार सबैको ध्यान केन्द्रित भएको बताउँदै उनिहरू भन्छन् , “नत्र स्थानिय बासिन्दा , धाम समिति र बन समिती यहाँका हरेक चुनौतीहरूसंग भिड्नु पर्थ्यो।”

पानी पर्नासाथ कोदालो बोकेर भल कटाउन दौडनु परेको तितो यथार्थ र अनुभव सुनाउँदै उनिहरू भन्छन् , “आधा घण्टा भल एकठाउँबाट कुद्न पायो भने त्यहीँ नयाँखोला भैहाल्थ्यो।”

टायलको चेपमा पलाएको झार तान्दै गरेकि ज्योति थापा आफ्नो बिगत सम्झँदै भन्छिन् ,”गाउँ घरका मान्छे बर्खा लागे पछि मानो रोपेर मुरि उब्जाउन लाग्थे हाम्रो त आफ्नो जग्गा पनि थिएन धान रोप्न अर्काको अदिया जग्गा लिएका थियौँ। खेती यहाँबाट आठ किलोमीटर टाढा थियो। पानी परेकोबेला खेती तिर लाग्यो भने बेलुका फर्किदाँ धरधरेले मन्दिर, धर्मशाला, घर आगँनमा नाग्न नसकिने खोल्सो भएको हुन्थ्याे।

बर्खासँगै बर्षात सुरू भएपछि झिल्झिलेबाट आउने रोड ठाउँ ठाउँमा गोरेटो बाटो भैसकेको हुन्थ्यो। हारगुहार गर्न गाउँ पनि टाढा पानी परेपछि भल कटाउन र स्याउला भेला गर्न किला काट्न लाग्नु पर्थ्यो । पानीमा भिजेका कारण कति बिरामी परियो पछि- पछि हामीले अधिया खेती पनि पाउन छोड्यो। पानी परेपछि भल कटाउन ठिक समयमा खेती गर्न पाएपो हामीलाई खेत रोप्न दिउन ! अरुले त खेती रोजेर गाउँतिर बसाइँ सरे हामी पनि बसाँई सर्दा ठाँउको माया लाग्ने धामको अस्तित्व नै सकिन्छ जस्तो लाग्थ्यो। सुख भन्दा दु:ख रोज्यौँ। खेती त्यागेर धाम रोजियो अहिले बिकास भयो धेरै राम्रो छ। “बाल्टिमा गोबर उठाउँदै गरेकी अम्बिका थापाले आफ्नो बिगत सुनाइन् ।”

धाम समितिमा पैसा थिएन मन्दिरमा पुजा चलाउन पनि समस्या हुन्थ्यो। साधु सन्तले भिक्षा माग्न गाउँ जानू पर्थ्यो । बर्खामा हुने समस्याले गर्दा गर्दैको अधिया खेती पनि छाड्नु परेको र रोजगार पनि नभएको तितो यथार्थ छ उनिहरूका माझ। जंगलको छेउ चाडपर्व बाहेक अरुबेला सुनसान हुन्थ्यो । ब्यापार पनि सिजनमा दुई महिना मात्रै हुन्थ्यो । एकातिर प्राकृतिक प्रकोप अर्को तिर बदमास फटाहाहरुको हेपाई र चोरी डकैतिको पिडासमेत खेप्नु पर्दा निकै कस्ट झेल्नु परेकाे उनिहरू बताउँछन् । भल कटाउँदा, स्याउला भेलापार्दा र किला काट्दा पछि पछी सामुदायिक बनले खाजा नास्तासम्मको ब्यबस्था गर्ने गरेको र अलि सहज हुँदै गएको नाली सफा गर्दै गरेका बुद्ध लिम्बु बताउँछन्।

हाल बिकाससंगै सरसफाइको आवश्यकता छ। गाईको उचित ब्यबस्थापन हुन नसक्दा धामक्षेत्रमा बिछ्याइएको टायल दैनिक सरसफाइ गर्नुपर्छ । स्थानियबासी जसले जुन समय निकाल्न सकिन्छ त्यही समयमा आ-आफ्ना परिवार मिलेर यस क्षेत्रकाे सरसफाइ गर्ने गरेको स्थानिय बासिन्दा तारा बहादुर थापा बताउँछन् । सरकारी निकायले बेलैमा यस्ता क्षेत्रकाे संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरूकाे सम्भावना उच्च रहेको यस बस्तिका आम मानिसको बुझाई रहेकाे छ।

प्रतिकृया दिनुहोस्