News Portal

शिक्षा सहकारीकाे वार्षिकोत्सवमा अपाङ्ग बालशिक्षा केन्द्रलाई सहयाेग

रातोपोस्ट संवाददाता
३५८ पटक

झापा, २९ भदाै । शिक्षा बहुउद्देश्यीय सहकारी बिर्तामोडले झापाको अर्जुनधारा–६ स्थित कप्तानवारीमा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रलाई खाद्य सहायता उपलब्ध गराएको छ । बाल दिवसको अवसर पारेर ‘शिक्षासँग बालबालिका’ कार्यक्रम अन्तरगत सहकारीले केन्द्रमा आश्रित अपाङ्गता भएका बालबालिकाका लागि खाद्य सहायता उपलब्ध गराएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको नवौँ वार्षिकोत्सवको अवसरमा अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न र स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको बताए । ‘केन्द्रमा आश्रित अपाङ्गता भएका बालबालिकाको तत्कालको आवश्यकता खाद्यान्न रहेछ’, अध्यक्ष न्यौपानेले भने, ‘केही स्वास्थ्य सामग्री पनि सहयोग गरेका छौँ ।’

गत वर्षमा पनि शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत तीन सय भन्दाबढी बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो । यसपटक शिक्षा सहकारीले बाल दिवसमा अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेको हो । सरोकार केन्द्रमा झापा र पाँचथरका १० जना बालबालिका आश्रित रहँदै आएका छन् । खाद्य सहायता कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका वडा सदस्य अर्जुन मेचेले सदस्यको हित र सामाजिक उत्तरदायित्व निर्वाहमा शिक्षा बहुउद्देश्यीय सहकारीको योगदान प्रशंसनीय रहेको बताए । कार्यक्रममा संस्थाका लेखा समिति सदस्य यामनाथ खरेल, शिक्षा शिकोप निकेतन मण्टेश्वरीकी प्रिन्सिपल पवित्रा कट्टेल, कर्मचारी दुर्गाप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

प्रिन्सिपल कट्टेलले व्यक्तिगत रुपमा केन्द्रलाई एक हजार रुपैयाँ सहयोग गरेकी छन् । दाताको सहयोगका भरमा केन्द्र सञ्चालन हुँदै आएको छ । दाताले केन्द्रको आवश्यकताका आधारमा सहयोग गर्दै आएको संस्थाका सञ्चालक कृष्ण दुलाल बताउँछन् । ‘दाताले के आवश्यक छ भनेर बुझेपछि सहयोग गर्दै आउनु भएको छ’, दुलालले भने, ‘शिक्षा बहुउद्देश्यीय सहकारीको सहयोगप्रति आभारी छौँ ।’ आवासीय रुपमा रहेका बालबालिकालाई अहिले दैनिक उपभोग्य सामानको खाँचो रहेको बुझेपछि सहकारीले चामल, चिउरा, दाल, तेल, चिनी, मसला, चना, चियापत्ती आलु लगायतका खाद्य सामग्री उपलब्ध गराएको संस्थाका सञ्चालक सदस्य हेमराज मिश्रले बताए । उनका अनुसार मास्क, सेनिटाइजर, फिनेल, सावुनसहितका स्वास्थ्य सामग्री पनि प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्