रातोपोस्ट संवाददाता
काठमाडौं । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘विरजंग’को निधन भएको छ ।
उपचारका क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती वीरजंगको निधन भएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजंग नेकपाका महासचिव विप्लवका सहोदर दाजु हुन् । वीरजंगका आमा, श्रीमती, दुई छोरा–बुहारी छन् ।
सरकारले पछिल्लो समय नेकपामाथि लगाएको प्रतिबन्धको समयमा वीरजंग पक्राउ परेका थिए । लामो समयसम्म हिरासत र जेलमा बसेका उनलाई भित्रै मुटुको रोगले गाँजेको थियो ।
दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमणसमेत भएको थियो ।