News Portal

एमालेको १०औं महाधिवेशन: प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

रातोपोस्ट संवाददाता
७०६ पटक

चितवन, ९ मंसिर । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदरवालाई पर्चा, पम्प्लेट र ब्यानर बनाउन रोक लगाइएको छ। भोलि चितवनमा उद्घाटन हुने एमालेको राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ। महाधिवेशन प्रतिनिधि चितवन पुग्न थालेका छन्। आन्तरिक तयारी पूरा भएको एमाले मूल आयोजक समितिले जनाएको छ। त्यस्तै, चितवनको सौराहामा निर्वाचन कार्यालय स्थापन गर्न मात्रै बाँकी रहेको छ। आज निर्वाचन कार्यालय पनि स्थापना गरिने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार चुनावमा स्वच्छ प्रतिस्पर्धा गराउन केही क्रियाकलापमा रोक लगाइएको छ। जस्तो यस पटक प्यानल बनाएर उम्मेदवारी दिन पाइनेछैन। त्यस्तै, उम्मेदवारको प्रचार प्रसारमा तडकभडक गर्न पाइनेछैन। उम्मेदवारको प्रचारका लागि पर्चा, पम्प्लेट र ब्यानर बनाउन नपाइने अध्यक्ष सुब्बाले जानकारी दिए। एमाले महाधिवेशनको १० मंसीरमा उद्घाटन हुनेछ। त्यसपछि ११ मंसीरमा उम्मेदवार दर्ताको समय तोकिएको छ। यससँगै त्यहि दिन उम्मेदवारी फिर्ता लिने समय दिइएको छ।

केन्द्रीय निर्वाचन आयोगले ११ मंसीर बेलुका ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। १२ मंसीरमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ। मतदानका लागि एक सय वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएका छन्। जसमा ९२ मेसिन मतदानका लागि प्रयोग हुनेछन्। तीन वटा मेसिनमा नमूना मतदान गरिनेछ भने पाँच वटा मेसिन जगेडा राखिने आयोगले जनाएको छ।

एक जना प्रतिनिधिलाई मतदान गर्न ३० मिनेट समय लाग्ने भएको छ। एउटा मेसिनमा ३० जनासम्मले मतदान गर्ने योजना बनाइएको छ। मतदान सकिएको दुई घण्टा भित्र नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ। एमाले केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २२५ सदस्यीय हुनेछ। त्यससँगै १५ सदस्यीय अनुशासन आयोग र १५ सदस्यीय केन्द्रीय लेखा आयोग बन्नेछ।

प्रतिकृया दिनुहोस्