News Portal

अष्टलक्ष्मी र युवराजले ओलीलाई भेटे, भीम रावललाई मिलाउन सुझाव

रातोपोस्ट संवाददाता
४०६ पटक

काठमाडाैँ, १२ मंसिर । एमालेभित्र सहमतिमार्फत १० औँ महाधिवेशनको टुङ्गो लगाउने कि निर्वाचनमार्फत भन्नेमा अन्योल कायमै रहेका बेला १० बुँदे पक्षधर दुई नेताले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सौराहास्थित ओली बसेकै होटलमा गएर शाक्य र ज्ञवालीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका हुन् ।

सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन् । जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनुका साथै रावलसँग वार्ता गर्ने आश्वासन पनि दिएका थिए । यद्यपि रावललाई कसरी मिलाउने भन्नेमा भने सहमति हुन सकेको छैन । त्यसका लागि थप छलफल हुने बताइएको छ । हिजो बेलुका शाक्य र ज्ञवालीसँगै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले पनि ओलीलाई भेटेर सहमतिका लागि दबाब दिएका थिए ।

उनीहरूले निर्वाचनमा जाँदा एकताको सन्देश नजाने भन्दै ओलीलाई मिलाउन आग्रह गरेका थिए । एक स्थायी कमिटी सदस्यले अहिले पनि नेताहरूबीच सहमतिका लागि आन्तरिक दौडधुप भएकाले बन्दसत्र पर धकेलिएको छ । सहमति जुटेपछि छोटो बन्दसत्र चलाउने नेता शेरबहादुर तामाङले बताए ।

प्रतिकृया दिनुहोस्