News Portal

भ्यानको ठक्करबाट गर्भवतीको मृत्यु भएपछि ग्वाल्डुब्बा बजार तनावग्रस्त

रातोपोस्ट संवाददाता
४९२ पटक

झापा, १७ मंसिर । भ्यानको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु भएपछि झापाको गौरादह नगरपालिका-७ स्थित ग्वाल्डुब्बा बजार क्षेत्र शुक्रबार तनावग्रस्त बन्यो। बा. ८ च. ७७३५ नम्बरको भ्यानको ठक्करबाट सोही नगरपालिका- ७ निवासी २८ वर्षीया सीता साहको मृत्यु भएको थियो। आफ्नै घर अगाडि बसिरहेको अवस्थामा बिहीबार दिउँसो ४ बजे भ्यानले उनलाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएकी उनलाई दमक लाइफलाइन अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको थियो । उनी दुई महिनाकी गर्भवती थिइन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदा घटनास्थल परिवर्तन गरेको र चालकलाई जोगाउन खोजेको भन्दै आक्रोशित स्थानीय बासिन्दा विरोधमा उत्रिएको स्थानीय बलबहादुर तामाङले जानकारी दिए।

विरोधमा उत्रिएका स्थानीयले ग्वाल्डुब्बा बजारमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सडकमा टायर बालेर नारा जुलुस गरेका थिए। जसले गर्दा ग्वाल्डुब्बा बजार क्षेत्र दिनभर तनावग्रस्त बन्यो। घटनालाई सामान्य बनाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । माग सम्बोधन भएपछि घटना साम्य बनेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। पीडित पक्षसँग सहमति भइसकेको छ। शवको पोस्टमार्टम गर्दा ढिलासुस्ती भएकाले स्थानीय प्रदर्शनमा उत्रिएको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्