News Portal

आज नेपाली कांग्रेसको प्रदेश नेृतत्वका लागि प्रदेश २ बाहेक अन्य प्रदेशमा मतदान हुँदै

रातोपोस्ट संवाददाता
२९७ पटक

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । संघीय संरचनाअनुसार कांग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो । प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ ।

मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ मा भने आज मात्र उम्मेदवारी दर्ता हुने भएको छ । अरू ६ वटा प्रदेशमा आज नेतृत्व चयनका लागि मतदान हुनेछ । प्रदेश १ सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशमा १ मा एक हजार ७७० मतदाता छन् ।

प्रदेश २ मा रञ्जीत कर्ण, रामसरोज यादव र कृष्ण यादवले दाबेदारी प्रस्तुत गर्नुभएको छ । बागमती प्रदेशमा भीमसेनदास प्रधान, जगदीश्वरनरसिंह केसी र इन्द्र बानियाँले उम्मेदवारी दिनुभएको छ । बागमती प्रदेशमा दुई हजार १३७ मतदाता छन् । गण्डकी प्रदेशको सभापति पदमा अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी प्रदेशमा भरतकुमार शाह र अमरसिंह पुनमगरले उम्मेदवारी दिनुभएको छ । एक हजार ६४८ मतदाताले पदाधिकारीसहित ७७ सदस्यीय प्रदेश कार्यसमितिका लागि मतदान गर्ने छन् ।

त्यसैगरी, कर्णाली प्रदेशमा भूपेन्द्रजङ शाही, ललितजङ शाही र मोतिराज बमले उम्मेदवारी दिनुभएको छ । कर्णाली प्रदेशका ७४९ मतदाताले पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछन् । सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम प्रदेशमा ९८७ मतदाताले पदाधिकारीसहित ५९ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गर्नेछन् ।

प्रतिकृया दिनुहोस्