News Portal

कांग्रेसलाई आधुनिक पार्टी बनाउँछाैँ : नेता महत

रातोपोस्ट संवाददाता
३१० पटक

काठमाण्डाै, २६ मंसिर । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित बनाउने बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताउनुभएको हो ।

उहाँले कांग्रेसलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । नेता महतले आम चुनावमा पार्टीलाई एक बनाएर एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकाले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेकाे दाबी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीलाई एउटा बलियो पार्टी, विस्तारित पार्टीका रूपमा रूपान्तरण गर्ने हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहन्छौँ ।

उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ । आम चुनावमा पनि पार्टीलाई एक बनाएर नेपाली कांग्रेसलाई एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनु छ । नेता, कार्यकर्ताको सहयोगमा म कांग्रेसलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिबद्धता जनाउँछु ।’कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बने पनि सदस्यतामा अझै समावेशिता नभएको बताउनुभयो । उहाँले आउँदा दिनमा पार्टीमा रहेका कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेता पौडेलले वीपी कोइरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताउनुभयो ।नेता पौडेलले नेपाली कांग्रेसभित्र वृहत् एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरूको भावनालाई प्रतिनिधित्व हुने गरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्