News Portal

कांग्रेसलाई माथि उठाउन प्रतिनिधिहरुले विवेक पुर्‍याएर अब नेतृत्व फेरौँ : कोइराला

रातोपोस्ट संवाददाता
२७८ पटक

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसका सभापतिका उमेदवार डा. शेखर कोइरालाले पार्टीलाई माथि उठाउन अब प्रतिनिधिहरुले विवेक पुर्‍याए नेतृत्व फेर्न पर्ने बताएका छन् ।दोस्रो चरणको चुनावअघि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोइरालाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताउँदै उनले भने,’तपाइँहरू स्वयंम नेता हो अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् । कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु ।’

आजसम्म रुपान्तरण र पुनर्जागरण गरेर आइरहेको स्मरण गराउँदै उनले अबको कांग्रेस नेतृत्व परिवर्तनबाट मात्रै सम्भव हुने भएकाले आफूलाई जिताउन प्रतिनिधिहरुलाई आह्वान पनि गरे । कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा शेरबहादुर देउवा अझ बलियो बनेका छन् । देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरूङले साथ दिएका छन् । जवकी देउवाको विकल्प खोज्ने भन्दै उनीहरू सबै देउवाविरूद्ध नै सभापतिको उम्मेदवार बनेका थिए ।

संस्थापन इतरको समूह डा.शेखर कोइराला दोस्रो धेरै मत ल्याएर देउवासँग भिड्ने तयारीमा लागेका बेला समीकरण बदलिएको छ । यसले कोइराला कमजोर देखिएका छन् । पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ । पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्