News Portal

कराँचीमा विस्फोट: ११ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
६६१ पटक

काठमाडौँ, ३ पुस । पाकिस्तानको कराँचीमा शनिबार दिउँसो भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।कराँचीको शेरशाह क्षेत्रको पर्चा चोक नजिकै विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

विस्फोटमा परी घाइते भएका १२ जनालाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरी अधिकारी जफर अली शाहले निजी बैंक मुनिरहेको नालामा विस्फोट भएको बताए । स्थानीय प्रशासनले नाला सफा गर्न सूचना दिएको प्रहरीको दाबी छ। तर ठाउँ खाली नहुँदा नाला सफा गर्न ढिलाइ भएको थियो ।विस्फोटबाट बैंक भवन र नजिकैको पेट्रोल पम्पमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । भवनमुनिको नालामा ग्यास जम्मा भएकाले विस्फोट भएको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ताले पछि विस्फोटस्थलको अनुसन्धान गर्न बम डिस्पोजल टोली बोलाइएको बताए । टोलीले प्रतिवेदन बुझाएपछि मात्रै विस्फोटको कारणबारे आधिकारिक जानकारी दिन सकिने बताइएको छ । सिन्ध रेन्जर्सले विस्फोटको सूचना पाएपछि अधिकारीहरू विस्फोट भएको ठाउँमा पुगेका थिए र क्षेत्रलाई घेराबन्दी गरेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्