News Portal

माओवादी केन्द्र प्रदेश–१ को नेतृत्व चयन गर्न निर्वाचन

रातोपोस्ट संवाददाता
३४० पटक

विराटनगर,७ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ को नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ ।पार्टीको प्रदेश सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि कार्यदल गठन गरिएको थियो । धेरै आकांक्षी भएपछि कार्यदलले समेत पदाधिकारी चयन गर्न नसकेपछि अन्ततः चुनावी प्रक्रियामा जाने तयारी भएको हो ।

पार्टीको विराटनगर, तीनपैनीस्थित प्रदेश पार्टी कार्यालयमा अध्यक्षसहितका पदाधिकारीका आकांक्षीले मत माग्न थालेका छन् । प्रदेश कमिटीको अध्यक्षमा साताजनाले दाबी गरेका छन् । तीन उपाध्यक्षका लागि एक दर्जनभन्दा धेरै र एक सचिवका लागि ६ जनाभन्दा धेरैले दाबी गरिरहेका छन् ।

आकांक्षीले सामाजिक सञ्जालमार्फत यसअघि नै मत माग्न थालेका थिए । चुनावी प्रक्रियामै जाने भएपछि पार्टी कार्यालयमा भेला भएका मतदातासँग पनि मत माग्न थालेका हुन् ।माओवादी केन्द्रका अनुसार अध्यक्षमा ६ जनाले दाबी गरिरहेका छन् । यो दौडमा सुनसरीका शिवकुमार डाँगी, पाँचथरका हर्कबहादुर नेम्बाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) छन् ।

प्रदेश उपाध्यक्षमा झापाका सीपी कडरिया, खोटाङका ध्रुव बुढाथोकी (धीरेन), र विराटनगरका भोगेन्द्र यादव आकांक्षी छन् ।महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दिरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना)लगायत छन् ।सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर), सुनसरीका आइन्द्रविक्रम बेघा र धनकुटाका ऋषिराम ढुंगानाले दाबी प्रस्तुत गरेका छन् ।

सहसचिवमा सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । कोषाध्यक्षमा सुनसरीका मदन चुँडालले दाबी गरेका छन् ।माओवादी केन्द्रको विधानानुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित नौ सदस्यीय पदाधिकारी चयन गर्ने प्रावधान छ ।

प्रतिकृया दिनुहोस्