News Portal

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

रातोपोस्ट संवाददाता
४७९ पटक

विराटनगर, ७ पुस । संखुवासभाको पाचखपन नगरपालिका-३ का दिपन राई आफ्नै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका छन् । यही पुस ५ गते राति १२ बजेको समयमा राईले २९ वर्षीया श्रीमती विष्णु माया राईलाई हत्या गरेको अरोप प्रहरीको छ ।

राति विष्णुमाया मृत अवस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय वानाबाट गएको प्रहरी टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको थियो । घटनास्थलमा खटिएको अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा मृतकको शरीरमा केही चोटपटक देखेसँगै अनुसन्धान गर्दा उनकै श्रीमानले हत्या गरेको भन्ने तथ्य फेला परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घटनास्थलको प्रारम्भिक अनुसन्धानसँगै मृतकलाई पोष्टमार्टमका लागि धरान पठाएको थियो भने अन्य अनुसन्धान जारी नै रहेकोमा विष्णुमायाको आत्महत्या तथा भवितव्यबाट मृत्यु नभई कर्तव्यबाट हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । मृतककै श्रीमान दिपनले आफैँले हत्या गरेको साविति बयान दिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

राईले श्रीमतीसँग सामान्य विषयमा विवाद हुँदा आवेगमा श्रीमतीको हत्या भएको प्रारम्भिक अनुसन्धानमा स्वीकर गरेको प्रहरीको दाबी छ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्