News Portal

राजसंस्थाको आवश्यक्ता झनै बढेर गयो : अध्यक्ष लिङ्देन

रातोपोस्ट संवाददाता
३८० पटक

काठमाडौं, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकासामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन्। तत्कालीन राजा वीरेन्द्रको ७७औं जन्म जयन्तीको अवसरमा राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्र निर्माण, जनताको जीवनस्तर र विकासको जग हाल्ने काममा राजसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।

उनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका छन्। अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए।उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दाबी गरे। लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे।

उनले राजा विरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए। उनले प्रजातन्त्र, विकास र क्षेत्रीय सन्तुलन राजा वीरेन्द्रको अटुट प्राथमिकता रहेको र जनताको चाहना बुझ्ने राजाको रुपमा आफ्नो जीवन समर्पण गरेको उल्लेख गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले नेपाली संविधानले सबैलाई समेट्न नसकेको बताउँदै संविधान बनाउने मतियारहरु नेतृत्व तहबाट पाखा नलागेसम्म देश बन्न नसक्ने टिप्पणी गरे। राप्रपाले महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर राष्ट्रियता, प्रजातन्त्र र धर्म संस्कृति रक्षाको आशा राख्ने र परिवर्तनको चाहना राख्ने जनताको ठूलो पंक्तिलाई आशा जगाएको उनले बताए।

कोइरालाले दलीय सदस्यबाट गणतन्त्रको राष्ट्रपति चयन हुने व्यवस्था नेपालका लागि उपयुक्त नभएको समेत बताए। कोइरालाले नेपालमा संघीयताको खारेजी, राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना नभएसम्म देशमा स्थिरता कायम हुन नसक्ने बताए। पूर्वजलश्रोत मन्त्री दीपक ज्ञवालीले राजा वीरेन्द्र राष्ट्रहित र जनताको अपेक्षालाई सर्वोपरी ठान्ने राजा भएको तर राजा भन्नासाथ सामन्त हुने गलत भाष्यको विकास गरेर राजसंस्थालाई बदनाम गरिएको बताए। ज्ञवालीले राजाहरूबाट जलश्रोतको क्षेत्रमा राष्ट्रघात नभएको तर जनताबाट निर्वाचित दल र नेताहरूबाट जलश्रोतमा गम्भीर त्रुटि भएको र त्यसले देशलाई दीर्घकालसम्म असर पार्ने चिन्ता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्