News Portal

राप्रपा र विवेकशील साझा मिलाएर नयाँ पार्टी बनाउन रवीन्द्र मिश्रको प्रस्ताव

रातोपोस्ट संवाददाता
६०४ पटक

काठमाडाैँ, १६ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मिलाएर नयाँ पार्टी बनाउन प्रस्ताव गरेका छन्। विवेकशील साझाका अध्यक्ष मिश्रले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शम्शेर राणासँग भेटेर दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाउन प्रस्ताव गरेका हुन्।भेटका क्रममा मिश्रले दुवै पार्टी मिलाएर अघि बढ्न प्रस्ताव गरेको राप्रपा महामन्त्री राणाले बताए। “सकभर एकीकरण गरौं, नभए दुवै पार्टी मिलाएर नयाँ पार्टी बनाऔं भन्ने उहाँको प्रस्ताव थियो,” राणाले हिमालखबरसँग भने। राप्रपाले विचार मिल्ने पार्टीहरूसँग एकीकरण गर्न महामन्त्री राणाको नेतृत्वमा समिति बनाएको छ। समितिले विभिन्न पार्टीसँग छलफल चलाइरहेको छ।

शुक्रबार विवेकशील साझाका अध्यक्ष मिश्रसँगको छलफल पनि त्यसैको सिलसिलाका रुपमा लिइएको राणाको भनाइ छ। “समान विचार भएका पार्टीसँग एकता गर्ने हाम्रो पार्टीको नीति नै छ, विवेकशील साझासँग एकीकरणका विषयमा पनि छलफल भयो,” राणाले भने, “यद्यपि, अहिलेलाई दिल्ली दुर नै छ। राप्रपाले संवैधानिक राजतन्त्रको वकलात गर्दै आएको छ। त्यस्तै, हिन्दूराष्ट्र घोषणा र संघीयता खारेज हुनुपर्ने राप्रपाको माग छ।

विवेकशील साझाका अध्यक्ष मिश्र पनि धर्मनिरपेक्षाका विषयमा जनमत संग्रह र संघीयता खारेज हुनुपर्ने पक्षमा उभिएका छन्। उनले पेश गरेको ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ। यो दस्तावेज पारित भएसँगै विरोधमा उत्रिएका विवेकशील साझाका संयोजक मिलन पाण्डेलाई कारबाही गरिएको छ। उनले राजतन्त्र मान्न नसक्ने बताएका थिए।

यहि पृष्टभूमिमा शुक्रबार मिश्रले राप्रपा अध्यक्ष लिङदेन र महामन्त्री राणासँग दुवै पार्टी मिलाउने प्रस्ताव गरेका हुन्। राप्रपा नेतृत्वसँगको भेटपछि विवेकशील साझाका अध्यक्ष मिश्रले सामाजिक सञ्चालमार्फत आशाजनक संवाद भएको बताएका छन्। मिश्रले लेखेका छन्, “आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन तथा महामन्त्री धवल शम्शेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो।”

प्रतिकृया दिनुहोस्