News Portal

माओवादी महासचिवमा ‘अर्को विकल्प’को खोजी, बस्नेत र गुरुङको दाबी

रातोपोस्ट संवाददाता
४५१ पटक

काठमाडौं, १९ पुस । माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपनि पदाधिकारीको टुंगो भने लगाउन सकेन। पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीमा करिब करिब सहमति भएको भन्दै आज टुंगो लाग्ने बताएका थिए।आज बस्ने नयाँ कार्यसमितिको बैठकले पदाधिकारी चयन गर्ने प्रचण्डको तयारी छ। तर महासचिवका आकांक्षीहरु धेरै जना भएपछि प्रचण्डलगायत शीर्ष नेताहरु पदाधिकारी चयन गर्न सकेका छैनन्।

माओवादीमा अध्यक्षपछि सबैभन्दा बढी चर्चाको विषय बनेको छ, महासचिव। महासचिवमा महाधिवेशनअघि देखि नै चार नेताले दाबी गर्दै आएका छन्। महासचिवका लागि नेता जनार्द्धन शर्मा, वर्षमान पुन र पम्फा भुसालले दाबी गर्दै गर्दा पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले आफू पनि महासचिवको दौडमा रहेका बताएका थिए। त्यही भएर पनि प्रचण्डलाई महासचिव छान्न सकस भएको छ।

यसैबीच महासचिवका लागि दोस्रो विकल्पको छलफल सुरु गरिएको छ। पहिलो विकल्पमा आकांक्षी चारै जना नेताहरुमा सहमति जुट्न नसकेपछि अर्को विकल्पमा देव गुरुङ र शक्ति बस्नेतबारे छलफल सुरु भएको छ।

माओवादी स्रोतका अनुसार आज बस्ने केन्द्रीय कमिटीको पहिलो बैठकमा अर्को विकल्पमा पनि छलफल हुनेछ। ‘महासचिवको लागि धेरै आकांक्षीहरु छन्। पहिलो आकांक्षीहरु जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल र कृष्णबहादुर महराबीच कुनै सहमति हुने छाँटकाट छैन। त्यही भएर अर्को विकल्पमा शक्ति बस्नेत र देव गुरुङबारे छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्