News Portal

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

रातोपोस्ट संवाददाता
२६३ पटक

काठमाडाैँ, २१ पुस । राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।आज उम्मेदवारविरुद्ध उजुरी परे २२ / २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ ।आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । जसमा एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएको छ । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले दुई सिटमा उम्मेदवार उठाएका छन् । यद्यपि निर्वाचनमा भने सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।

प्रतिकृया दिनुहोस्