News Portal

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रदेशमा पनि संयन्त्र गठन गरिने

रातोपोस्ट संवाददाता
४४६ पटक

काठमाडौं, २२ पुस । सत्ता गठबन्धनका दलहरुले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउन प्रदेशस्तरीय संयन्त्र गठन गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रदेश स्तरमा संयन्त्र विस्तार गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। यसका लागि गठबन्धनले भागबन्डा गरेका छन्। ती उम्मेदवारलाई विजयी गराउनका लागि उनीहरुले सातवटै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको हो। सरकार सञ्चालनका लागि सहजीकरण गर्न नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्माण भएको संयन्त्रको बैठक बसेको थियो। उपाध्यक्ष पौडेलका अनुसार पाँच दलीय गठबन्धनमा रहेका दलहरु सम्मिलित संयन्त्र सातवटै प्रदेशमा निर्माण गर्न लागिएको हो।

आजको बैठकमा संयोजक पौडेलले संसदको गतिरोध हटाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका बारेमा पनि ब्रिफिङ गरेका थिए। ‘उहाँ (पौडेल)ले प्रमुख प्रतिपक्षी दलको नेतासँग भएको छलफलका बारेमा जानकारी गराउनुभयो,’ पौडेलले भनिन्, ‘पुरानो अडानमा यथावत रहेको भन्ने ब्रिफिङ भयो।’ लामो समयदेखि संसद निरन्तर अवरोध भएपछि संयन्त्रको संयोजकको हैसियतले नेता पौडेलले बुधबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा एकघन्टा लामो छलफल गरेका थिए।

छलफलमा पौडेलले संसदको गतिरोध अन्त्य गरेर अघि बढ्न सुझाएका थिए। तर, ओलीले भने नेकपा एमालेले कारबाही गरेका सांसदहरुका विषयमा सभामुखले मर्यादाविपरित काम गरेको भन्दै आफूहरुको अडानबाट पछि नहटने बताएका थिए। संयन्त्रको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारदेखि गर्ने भारत भ्रमण लगायतका विषयमा पनि छलफल भएको छ।

प्रतिकृया दिनुहोस्