News Portal

माछाभित्र खैरो हिरोइन लुकाएर कारागारभित्र लगेको आरोपमा दुई पक्राउ

रातोपोस्ट संवाददाता
३२९ पटक

काठमाडाैँ, १९ जेठ । कारागारका बन्दीलाई माछामा लुकाएर लागुऔषध दिन खोज्ने दुई जना पक्राउ परेका छन्। सिन्धुली कारागार कार्यालयमा माछाभित्र लुकाएर खैरो हिरोइन लगिदिएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।

जबरजस्ती करणी र बालविवाह मुद्दाका कैदी पर्सा वीरगन्ज महानगरपालिका-३२ टेढाटोल घर भएका कमरूलहक अन्सारी र लागुऔषध मुद्दामा पुर्पक्षमा रहेका पर्वत फलेवास नगरपालिका-५ घर भएका अभिनास सुवेदी भन्ने आविस्कार सुवेदीले लागुऔषध खैरो हिरोइन मगाएका थिए। उनीहरूले गत सोमबार दिउँसो साढे २ बजे कारागारका चालक ४६ वर्षीय दिपराज श्रेष्ठलाई फोन गरी बर्दिबासबाट माछा आउँदै गरेको भन्दै जानकारी गराएका थिए।

माछा पुर्‍याउन बर्दिबासका ट्याम्पु चालक भुवननाथ जोगी आएका थिए। श्रेष्ठले मंगलबार चालक भुवननाथबाट माछा ल्याएर कारागारमा लगेका थिए। तर कारागारमा शंका लागेर माछाको पेट चिरेर हेरिएको थियो। त्यसभित्र दुइटा प्लाष्टिकले बेरेको अवस्थामा खैरो हिरोइन बरामद गरेको थियो। उनीहरूबाट ५.१२ ग्राम लागुऔषध बरामद भएको हो। अहिले श्रेष्ठ र जोगी दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्