झापा, २९ जेठ । झापाकाे मेचीनगर- ७ स्थित अरनिको माविका प्रधानअध्यापक अग्नी घिमिरेले सोही विद्यालयकी महिला शिक्षकमाथि यौन दुव्र्यवहार गरेको भनेर सञ्चार माध्यममा आएको समाचारका बिषयमा सत्यतथ्य छानविन गरी दोषी देखिए कानूनी कारबाहीको दायरामा ल्याउन नेपाल शिक्षक महासंघ मेचीनगरले माग गरेको छ ।
शिक्षक महासंघ मेचीनगरले आज एक बिज्ञप्ती प्रकाशित गरी जेठ २५ गते सेतोपत्र डटकम अनलाइनमा प्रकाशित भएको ‘मेचीनगरमा प्रधानअध्यापकद्वारा महिला शिक्षकमाथि यौन दुव्र्यवहार, घट्ना सार्वजनिक हुने डरले प्रधानअध्यापकद्वारा राजिनामा’ शीर्षकको समाचार प्रति गम्भिर ध्यानार्षण भएको जनाएको छ ।
शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेल (केशब) ले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘शिक्षक महासंघ मेचीनगरको सचिव समेत रहेका अरनिको माध्यमिक विद्यालय मेचीनगर- ७ का प्रधानअध्यापक अग्नीप्रसाद घिमिरेमाथि लागेको आरोपले समग्र शैक्षिक क्षेत्र र योसंग सम्बद्ध शिक्षक तथा कर्मचारी गम्भिर प्रश्नचिन्ह खडा भएको छ । शिक्षक जस्तो अत्यन्तै मर्यादित पेशासंगै जोडिएर आउने पटक- पटकका यस्ता समाचारहरुले हामी समस्त पेशागत शैक्षिक नेतृत्वहरुलाई तरगिंत एवं सोचनिय बनाएको छ ।’
विज्ञप्तीमा भनिएको छ, ‘प्रधानअध्यापकमाथि लगाइएको आरोप सहि वा गलत के हो त्यसको निष्पक्ष छानविन गरी दोषी ठहरिए कानून बमोजिम प्रक्रिया अगाडी बढाउन आरोप गलत ठहरिए र समाचार सम्प्रेशण गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याई तदनुरुप सजाय दिलाउने सवालमा सम्बन्धीत निकायको छानविनबाट प्राप्त हुने निष्कर्षको शिक्षक महासंघ सदैव स्वागत र सम्मान गर्दछ ।’