News Portal

मेचीनगरमा बाढीको वितण्डा : मेयर बुढाथोकीद्वारा निरीक्षण

रातोपोस्ट संवाददाता
२८० पटक

मेचीनगर, १९ असार । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्र यसपटक पनि उही दशा दोहोरियो । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाइ खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा क्षति पुगेको छ । पूर्वकै मुख्य सीमा नाका रहेको मेचीनगरमा वर्षेनि हुने डुबानको कारण के हो ? यसलाई रोक्न के गर्न सकिन्छ । यसमा कसैको चासो छैन ।

मेचीनगर हरेक वर्ष बाढीको चपेटामा परिरहेको छ । तर, मेचीनगर नगरपालिका तथा अन्य जिम्मेवार निकायले यसको कारण खोज्ने प्रयास गरेका छैनन् । कारण नै नखोजेपछि त्यसको निदानको उपाय त धेरै परको कुरा भयो । मेचीनगर–१५ स्थित पालियाको लिम्बु वस्ती र सशस्त्र प्रहरीको विओपी क्षेत्र नै बाढीको उच्च जाखिममा रहेको छ । वर्षेनि बाढीबाट नदी कटानले मेचीनगरका विभिन्न वडाका स्थानीयको बालीनालीमा नष्ट हुँदा लाखौँको क्षति भएको छ । मेचीनगरको डुवानको सन्दर्भमा नगरपालिकाले पनि खासै चासो नदेखाएको पीडितहरुको गुनासो छ ।

असार लागे यता लगातारको वर्षासँगै आएको बाढीले मेचीनगरका स्थानीय चिन्तित बनेका छन् । शनिबार मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी मेची नदीको कटानले वडा नम्बर १५ को विभिन्न वस्ती डुवानमा परेपछि निरीक्षण गर्न गएका थिए ।मेचीनगर–१५ स्थित भिण्डी वस्ती, पाहन वस्ती, वंशल टि–स्टेट १० नम्बरको खडु वस्ती, हेल्दुबारीको निन्दा खोला, पालियाको लिम्बु वस्ती, पालिया पारी सन्थाल वस्ती र सशस्त्र प्रहरी बलको विओपीमा नदी कटान हुँदा सो क्षेत्र जोखिममा परेको भिण्डी वस्ती युवा समितिका सञ्चालक रन्जित शहनीले बताए ।

पालियाको लिम्बु वस्ती र सशस्त्र प्रहरी बलको विओपी क्षेत्र नै बाढीको उच्च जोखिममा रहेको भिण्डी वस्ती युवा समितिका सहसञ्चालक हरिकुमार मर्डीले जानकारी दिए । नदी कटानले सो वस्तीका स्थानीय नरेश विक, मिलन विक, असोक राई, मन्तेष पाहन, प्रेम गुरुङ लगायतको खेतीबालीमा क्षति पुगेको शहनीको भनाई छ । ‘मेची, हडिया, निन्दा र टिमाई खोलाको बाढीले नदी कटान हुँदा वर्षेनि स्थानीयको खेतीयोग्य जमिनमा क्षति पुगिरहेको अवस्था छ’, नगरप्रमुख बुढाथोकीले भने–‘यस्लाई रोक्न स्थानीय सरकारले सक्दैन । तटबन्धन गर्न करिव ५ अर्व लाग्छ । हाम्रो बजेटले भ्याउदैन ।’

यसपटक प्रदेश र संघीय सरकारले मेचीनगरलाई तटबन्धन वा नदी नियन्त्रणका लागि बजेट नछुट्टाको उनको आरोप छ । उनका अनुसार यस विषयमा नगरपालिकाले सामान्य मात्र योजना बनाएर काम गर्न सक्छ । त्यसका लागि ठोस योजना बनाएर कार्यक्रम ल्याउन माथ्लो निकायमा पहल गरिने नगरप्रमुख बुढाथोकीले बताए । वडा नम्बर १५ स्थित सशस्त्र प्रहरी बल विओपीका नायव निरीक्षक अमर विश्वकर्मा र स्थानीयले शनिबार दिउसो नगरप्रमुख बुढाथोकीलाई खोलाले कटान गरेको प्रभावित क्षेत्रहरु देखाएका थिए ।

प्रतिकृया दिनुहोस्