News Portal

पेट्रोलियम पदार्थको खपत घटाउन ‘कोटा’ तोक्न निगमको प्रस्ताव

रातोपोस्ट संवाददाता
३३४ पटक

काठमाडाैं, २० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई विभिन्न प्रस्ताव गरेको छ । पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोर्दै गएको निगमले इन्धनमा कोटा प्रणाली लागू गर्न प्रस्ताव गरेको हो ।

निगमले मोटरसाइकललाई १ पटकमा बढीमा ५ लिटर र कार तथा जीपलगायत साना सवारीसाधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिएको छ । सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनाबाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्न र प्रमुख शहरमा प्रत्येक शनिवार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न प्रस्ताव गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

विद्युतीय सवारी साधानको प्रयोगमा वृद्धि गर्न प्रमुख शहर र राष्ट्रिय राजमार्गमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङस्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोक्न सरकारलाई प्रस्ताव गरेको छ । निगमले छोटा दूरीमा सवारी साधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्न, ढुवानी कार्यमा प्रयोग हुने मालबाहक सवारी साधन पूर्ण क्षमतामा चलाउन, मोटरसाइकल, कार तथा सरकारी सवारीसाधनमा सिटअनुरूप यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ ।

प्रतिकृया दिनुहोस्