News Portal

झापामा मोटरसाइकल दुर्घटनामा परी एक वृद्धाको मृत्यु

रातोपोस्ट संवाददाता
२८२ पटक

झापा, २२ साउन । झापामा मोटरसाइकल दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-७ स्थित नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्की रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार आइतबार अपराह्न ५ बजे बुद्धशान्ति गाउँपालिका-२ स्थित रबर बगानस्थित भित्री सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक अर्जुनधारा-७ का ४४ वर्षीय सुमन र उनका आमा लक्ष्मीमाया कार्की घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिए पनि लक्ष्मीमायालाई चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । लक्ष्मीमायाको टाउकोमा गम्भीर चोट लागेको थियो । यता चालक सुमनको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनिले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्