News Portal

नारी सञ्चार गृहद्वारा एक लाख राशिको पुरस्कार घाेषणा

रातोपोस्ट संवाददाता
२८१ पटक

झापा, १८ भदौ । नारी सञ्चार गृह झापाले दुईवटा पुरस्कार घाेषणा गरेको छ । सञ्चार गृहले एकलाख ११ हजार १११ रुपैयाँ राशिको नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।

झापामा क्रियाशील महिलालाई पुरस्कृत गर्ने गरी घोषणा गरिएको यो पुरस्कार हरेक दुई वर्षमा वितरण हुनेछ । नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकाेटीले पुरस्कार घाेषणा गर्दै यसलाई प्रादेशिक तहमा पनि विस्तार गरिने बताइन् ।

संस्थाकाे ११ औँ स्थापना दिवसकाे अवसरमा आज बिर्तामोडमा आयाेजित कार्यक्रमका बीच पुरस्कार घाेषणा गरिएको हो । सञ्चार गृहले २५,५०५ रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार पनि स्थापना गरेको छ ।

महिलाहरुलाई पत्रकारितामा सिक्न, टिक्न र बिक्न सजिलो होस् भन्ने उद्देश्यले यी पुरस्कार स्थापना गरिएको अध्यक्ष सिवाकोटीले बताइन् ।

नारी सञ्चार गृहले स्थापना गरेको यो पुरस्कार सम्भवत मोफसलमा सर्वाधिक राशिको पुरस्कार हो । महिलाहरुलाई पत्रकारितामा टिकाइराख्न यो पुरस्कारले अझ धेरै महत्व राख्ने संस्थाकी सचिव भूमिका सुब्बाले बताइन् ।

प्रदेश सरकारका यातायात तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे र नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङको आतिथ्यका बीच घोषणा गरिएको पुरस्कार आगामी अधिवेशनका अवसरमा वितरण गर्ने जनाइएको छ ।

नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको व्याजले ती पुरस्कार प्रदान गर्ने जनाइएको छ । अक्षय कोषमा २५ लाख रुपैयाँ नाघिसकेको छ ।

प्रतिकृया दिनुहोस्