News Portal

झापामा ब्राउन सुगरसहित एक महिला पक्राउ

रातोपोस्ट संवाददाता
२६८ पटक

झापा, २ असाेज । झापामा स्रोत नखुलेको साढे तीन लाख र ब्राउन सुगरसहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ४३ वर्षीया भारती राजवंशी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार साँझ ६ बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा ती महिलालाई शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रहरीले पक्राउ गरी ती महिलालाई उनको घरमा लगेर खानतलासी समेत गरेका थिए ।

प्रहरीले उनको घरबाट ८ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र नगद ३ लाख ५३ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो । यता ब्राउन सुगर र नगदसहित पक्राउ परेको महिलालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको डीएसपी पाठकले बताए ।

प्रतिकृया दिनुहोस्