News Portal

क्रिकेटर सन्दीप लामिछाने रिहा, परिवारले लिए जिम्मा

रातोपोस्ट संवाददाता
२१९ पटक

काठमाडौँ, २९ पुस । नाबालिगलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका पूर्व क्रिकेटर सन्दीप लामिछाने थुना मुक्त भएका छन् । प्रक्रिया पूरा गरी सुन्धारास्थित केन्द्रीय कारागारले उनलाई उनका बुबा र आमाको जिम्मा लगाएर पठाएको हो । उनी आफ्नै गाडीमा बसेर घर गएका छन् ।

लामिछाने २० लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न बिहीबार आदेश दिएका थिए । उनलाई विभिन्न शर्तसशित थुनामुक्त गर्न आदेश दिएको थियो । तर धरौटी बुझाउन ढिलो भएकाले क्रिया पुर्‍याएर लामिछाने आजमात्र रिहा गरिएको केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।

शुक्रबार उनका दाजुले जिल्ला अदालतमा २० लाख धरौटी रकम बुझाएका थिए । त्यसपछि लामिछानेलाई तारेका लागि जिल्ला अदालतमा हाजिर गराइएको थियो । त्यसपछि उनको स्वास्थ्य परीक्षण सहित आवश्यक प्रक्रिया पूरा गरी उनलाई कारागार प्रशासनले परिबारको जिम्मा लगाएको हो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले कार्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थिए ।

संयोग त यो छ कि उनी थुनामा परेको दिन कार्तिक १८ गते शुक्रबार थियो भने थुनामुक्त हुने दिन पुस २९ गते पनि शुक्रबार परेका छन् । सन्दीप ७० दिनपछि थुनामुक्त हुने भएका हुन् ।

प्रतिकृया दिनुहोस्