News Portal

व्यवसायीको समस्या बुझेका खेमराज

रातोपोस्ट संवाददाता
१५७ पटक

झापा, १९ माघ । विसं २०३० सालमा साविक धाइजन गाविसमा जन्मिएका खेमराज प्रसाईं व्यवसायको क्षेत्रमा चिनिएको नाम हो । लामो समयदेखि व्यापार/ व्यवसायमा सक्रिय प्रसाईं मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदको बागडोर सम्हाल्न चुनावी मैदानमा छन् ।

मेची उद्योग वाणिज्य संघ मेचीनगरका सबै व्यवसायीहरुको छाता पनि संस्था हो । यो संस्थाको अगुवाई गर्न प्रसाईं तम्तयार छन् । उद्योग/व्यवसाय क्षेत्रको प्रवद्र्धन गर्ने योजना उनीसँगै थुपै्र छन् । ती योजनालाई संस्थागत गर्न प्रसाईं सबै क्षेत्रका व्यवसायीलाई सँगसँगै लिएर अघि बढिरहेका छन् ।

२०४६ सालबाट व्यवसाय सुरु गरेका प्रसाईं आजसम्म पनि व्यवसायीको हित र प्रवद्र्धनमा लागि परेका छन् । सुरुवाती समयमा उनले होटल व्यवसाय गरे । त्यसपछि उनी कुचो व्यवसायमा सक्रिय भए । कृषिजन्य वस्तु अदुवा, अलैँची, अम्लिसोको व्यापारमा आफूलाई मात्रै होइन, अरुलाई पनि व्यापारमा जोड्ने प्रयास गरेका छन् ।
कुचो व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका प्रसाईंले त्यसबेला कुचो निर्यातमा लाग्दै आएको कर हटाउन भूमिका खेलेका छन् । कुचोमा लाग्दै आएको भन्सार छुट गराउन उनको भूमिका रहेको कुचो व्यवसायीहरु बताउँछन् ।

व्यवसायलाई विस्तार गर्ने क्रममा प्रसाईंले भेनियर क्षेत्रमा लगानी गरे । उनले जुन–जुन व्यवसाय सञ्चालन गरेका छन्, आफूलाई मात्र होइन अरुलाई पनि व्यवसायमा लाग्न प्रेरित गरेका छन् । आज उनले सञ्चालन गरेका व्यवसायको क्षेत्रमा रोजगारीका अवसरका बाटो बनाइदिएका छन् । भेनियर संघको केन्द्रीय उपाध्यक्ष समेत रहेका प्रसाईंले व्यवसायसँगै सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याएका छन् । व्यवसायबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गरेका छन् ।

व्यवसाय क्षेत्रमा राम्रो छवि बनाएका प्रसाईंले मेचीनगरको भानु निमाविको शिक्षक अभिभावक संघको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निभाएका छन् । यस्तै, धुलाबारी माविको व्यवस्थापन समिति सदस्य, बाँसबारी सामुदायिक वन समूहको अध्यक्षको जिम्मेवारी उनले पूरा गरेका छन् । कोरोना महामारी र आर्थिक मन्दीका कारण व्यवसायीहरु चर्को पीडामा परेका बेला फुटेर होइन, जुटेर साझा अघि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ व्यवसायीको नेतृत्व गर्न प्रसाईं चुनावमा होमिएको बताउँछन् ।

प्रतिकृया दिनुहोस्