झापा, २३ माघ । अघिल्लो वर्ष १३ माघमा मेचीनगर- ४ बाहुनडाँगीका चालक अर्जुन कोइराला (सार्की) प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअपमा स्थानीय व्यवसायी दाजु–भाइ रमेश र सूर्य थापालाई बोकेर इलामतिर उक्लिदै थिए ।
विहान करिव साढे ५ वजेको हुँदोहो हुस्सुले अगाडीको वाटो देख्न सक्ने अवस्था थिएन । त्यही वेला अचानक एक जना पैदलयात्री गाडी अघिल्तिर आए । उनलाई जोगाउने हुँदा अनियन्त्रित भएको गाडी सडकबाट करिव ३ सय मिटर तल भीरमा खस्यो ।
गाडीमा सवार थापा दाजु–भाइको घटनास्थलमै मृत्यु भयो । चालक कोइराला गम्भीर घाइते भए । जसोतसो ज्यान वच्यो । स्थानीयले उद्धार गरी विर्तामोडको विएण्डसी अस्पताल पुर्याए । मेरुदण्ड फुटेर चकनाचुर थियो । ७ दिन अस्पताल बसेर घर फर्किए । ‘डाक्टरले त दुई तीन हप्ता अस्पतालमै वस्नु पर्छ भनेको थियो’, अर्जुनले सुनाए,‘तर, खर्चले धान्न सक्ने अवस्था नभएपछि घर बसेर आराम गरे“ ।’
उनको उपचार खर्च गाडीका साहु जीवन दर्जी (मोते) ले व्यहोरेका थिए । अस्पतालवाट घर फर्किएको केही दिनमा मृतक थापाकी श्रीमती रुकमणि थापाले उनी विरुद्ध सवारी ज्यान मुद्धा दायर गरिन् । मुद्धा चल्न थालेपछि भर्खरै विशेक हुदै गरेको विराम थप बल्झियो । करिव साढे ३ महिना ओछ्यान परेका उनी विरुद्ध मुद्धा परेपछि इलाका प्रहरी कार्यालय पशुपति नगर इलामले २५ दिन हिरासतमा राखेर अनुसन्धानका गर्यो ।
प्रहरी अनुसन्धानपछि जिल्ला अदालत इलाममार्फत डेढ लाख रुपैयाँ धरौटी बुझाएर उनी तारेखमा छुटे । धरौटी रकम पनि गाडी साहु मोतेले नै वुझाइदिए । वर्ष दिन देखि तारेख धाइरहेका उनी एक साता देखि वेचैन छन् । उनीविरुद्ध दायर मुद्धाको फैसला गत माघ ९ मा भयो । जिल्ला अदालतका न्यायाधिश दिपक दाहालको इजलाशले उनलाई दोषी ठहर गर्यो । अदालतमा वयानका क्रममा कोइरालाले भनेका थिए, ‘पैदलयात्री बचाउन खोज्दा गाडी भीरवाट खस्यो ।’ अदालतले प्रति उत्तरमा भन्यो, ‘मान्छे देख्दा रोक्ने हो कि गाडी भीर तिर हाल्ने हो त ?’ कोइरालाको पक्षका अधिवक्ता खगेन्द्रराज कट्टेलले भने,‘ अदालतले कसुर ठहर गरिसकेको छ । तर, कति वर्ष कैद या जरिवाना गर्ने भन्ने कुराको टुंगो माघ २६ गते मात्रै लाग्छ ।’
उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ मा चालकले लापरबाही गरी सवारी चलाउँदा दुर्घटना भए ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
तर, सोही दफाको उपदफा ३ मा सवारी दुर्घटना हुँदा (चालकको लापरबाहीबिनै) कसैको ज्यान गए चालकलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । अधिवक्ता कट्टेल भन्छन्,‘अदालतले कसुर ठहर गरे पनि उहाँले तेस्तो धेरै लापर्वाही गरेको देखिदैन । भवितव्य हो यो, अन्तिम फैसलामा अदालतले पक्कै विवेक पुर्याउँला ।’ सवारी ऐनमा के कस्तो अवस्थालाई चालकको लापरबाही मान्ने भन्नेबारे स्पष्ट परिभाषा छैन । यस्तो वेला आरोपीको अवस्था मूल्यांकन गरेर न्यायाधिशले भूमिका निर्वाह गर्न सक्छन् ।
दुर्घटनावाट उनी ‘भाग्य’ ले बाँचेका थिए । मेरुदण्ड र करङहरु फुटेका कारण उनी अहिले पनि हिडडुल गर्न र गह्रुंगो भारी वोक्न सक्दैनन् । मादक पदार्थ वा अन्य कुनै लागूऔषध सेवन गरी चलाएमा, वान वेमा गएर वा गाडी लैजान नमिल्ने स्थानमा गएर दुर्घटना गराएमा, अत्यन्त तीव्र गतिमा चलाएमा, गलत दिशामा पु¥याएर ठक्कर दिएमा, सवारीसाधन नियन्त्रणमा लिन नसक्ने गरी बिग्रेको अवस्थामा चलाएर दुर्घटना गराएमा र त्यसबाट ज्यान गए मात्रै चालकको लापरबाही मानिन्छ । कोइरालाको हकमा यस्तो केही भएको देखिदैन ।
कोइरालाकी श्रीमती धनमायाले कमाउने मान्छे एक वर्ष देखि थला गरेको अवस्थामा अदालतले पुनः जेल पठाउन लागेको कुराले थप पीडित भएको बताइन् । वडा नम्वर- ४ कि जनप्रतिनिधि उनले अदालतको फैसलाप्रति लक्षित गर्दै विलौना सुनाइन्,‘ वालवच्चा साना छन् । कमाउने मान्छे एक वर्षदेखि ओछ्यानमा छन् । फेरि जेलै जाने कुराले हाम्रो त विल्लीवाठै हुन्छ ।