झापा, ६ जेठ । मेचीनगरबासीले अब चाडै नै कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा पाउने भएका छन् । विगतलामो समयदेखि मेचीनगरबासीले ठुलो समस्या झेल्दै आएको बिषयलाई मध्यनजर गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा कार्यक्रम लागु गर्न सरोकारवाला निकायसंग पहल गरि आवश्यक छलफल अगाडी बढाएका छन् ।
मेचीनगरमा किसान र कृषि क्षेत्रमा आबद्ध हुनेको संख्या ठुलो छ । उनीहरुले विभिन्न कारणले कृषि क्षेत्रमा क्षती व्यहोर्नु परिरहेको छ । तर, बिमा कार्यक्रम लागू भए पश्चात् उनीहरुले राहात पाउने नगरप्रमुख बुढाथोकीले बताए । साथै उनले मेचीनगर क्षेत्रमा हुने हात्ती, बादर, स्याललगायतका जंगली जनावरबाट हुने क्षतीको क्षतीपुर्ती बिमा वापत उपलब्ध गराउन सके त्यस समस्याबाट पनि मेचीनगरबासी मुक्त हुने उनको भनाई छ ।
नगरप्रमुख बुढाथोकीको समन्वयमा बिहिबार नगरपालिकामा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेश पराजुली, विभिन्न वडाका वडाध्यक्ष, कार्यापालिका सदस्यलगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा नेको इन्स्योरेन्सका प्रतिनिधिसंग कृषि बिमा, पशु बिमा र जंगली जनवारबाट हुने क्षतिको बिमा सम्बन्धि छलफल सम्पन्न भएको मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र कार्कीले जानकारी दिए ।