।। कविता ।।
चिताको आगोमा खरानी बन्नेहरु लोभको सिनोमा झुक्न सक्छ, मृत्यु संग्रामका डरपोकहरु जीवितै श्रद्धाञ्जली पनि माग्न सक्छ तर हिमाली रगतले पोतिएको मेरो देश पवन–पवनमा पनि सिमाना कोर्न सक्छ ।
माटोको गद्दीमा मस्त निदाउनेहरु ढलको लामखुट्टे पनि बन्न सक्छ बुरुक्क बुर्कुशी मार्ने औंसीका सिपाहीहरु
लाटकोसेरो झैँ घुम्दै घुर्न सक्छ तर हिमाली रगतले पोतिएको मेरो देश पवन–पवनमा पनि सिमाना कोर्न सक्छ ।
अट्टल चट्टानले सजिएको पवित्र भूमि धागोको सम्बन्ध तोड्न पनि सक्छ बरफको जरुवा पिउने नेपाली भित्ते तस्विर पनि पखाल्न सक्छ हिमाली रगतले पोतिएको मेरो देश पवन–पवनमा पनि सिमाना कोर्न सक्छ ।
काली र कोशीको जल प्रलयमा नजिर नजरियाहरु डुब्न सक्छ गुराँस अनि कस्तुरीको भेषमा निकम्मालाई पनि टुक्र्याउन सक्छ, हिमाली रगतले पोतिएको मेरो देश पवन–पवनमा पनि सिमाना कोर्न सक्छ ।
सिरुपाते ऐनामा जुल्फी बनाउँदै दुर्नितहरुको गोगो काट्न सक्छ गुलेली र ग्याटिसले शिकार गर्दै गोला र बारुदको धम्की मार्न सक्छ, हिमाली रगतले पोतिएको मेरो देश पवन–पवनमा पनि सिमाना कोर्न सक्छ । स्वाभिमानको बलात्कारी नीतिलाई टेक्दै आदिपुरुषका पाङ्दुरेलाई कुल्चिनु पर्छ माछापुच्छे« प्रतिबिम्बमा मुसुक्क हाँस्दै नेपथ्य नेपथ्यबाट पोस्टरहरु डुबाउनु पर्छ हिमाली रगतले पोतिएको मेरो देश पवन–पवनमा पनि सिमाना कोर्न सक्छ ।