News Portal

असार महिनाको बिजुली बिल अस्वाभाविक बढ्यो

रातोपोस्ट संवाददाता
६२० पटक

मेचीनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले असार महिनाको विद्युत महसुल अस्वाभाविक रुपमा बढाउने गरेको छ । हरेक ग्राहकको घरमा पुगेको असार महिनाको विद्युत महसुल बढेर आएको ग्राहकहरु बताउँछन् । विद्युत प्राधिकरणले हरेक वर्ष असार महिनामा महसुल रहस्मय ढंगले बढाउने गर्दा ग्राहकहरु मारमा पर्ने गरेका छन् । विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र अन्तर्गतका अधिकांश ग्राहकको महसुल बढेर आएको हो । अरु महिनामा बिजुलीको महसुल खपत अनुसार नै आउने गर्दछ । तर, असार महिनामा महसुल अस्वाभाविक रुपमा ह्वात्तै किन बढ्ने गर्दछ भनेर ग्राहकले प्रश्न गरेका छन् ।

मेचीनगर–९ निवासी देवी भण्डारीले असार महिनाको बिल धेरै आएको बताइन् । उनले अरु महिना २०० रुपैयाँ जति आउने गरेको र यसपाली ७४० रुपैयाँको बिल आएको बताइन् । यस्तै, मेचीनगर–७ निवासी गायत्रादेवी बोहोराले पनि विजुलीको विल बढेर आएको बताइन् । अघिल्लो महिना ५ सय जतिको आउने गरेको र यसपाली १९ सय रुपैयाँको बिल आएको बताइन् ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष क्लोजिङ गर्ने बहानामा ग्राहकबाट मनपरी रकम असुल्न खोजेको ग्राहकहरुले दाबी गरेका छन् । तर, विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले भने त्यस्तो नहुने बताएको छ । धुलाबारी शाखाका प्रमुख सुनिल कुमार महतोले गर्मी मौसमका कारण महसुल बढेर आएको हुन सक्ने बताए । ‘गर्मी मौसममा बढी बिजुली खपत हुने गर्दछ,’ उनले भने, ‘यसमा आशंका गर्नुपर्ने कुरै छैन ।’
महतोका अनुसार असोज महिनादेखि फागुनसम्म सामान्य र बैशाखदेखि भदौसम्म उच्च बिजुली खपत हुने गर्दछ । धुलाबारी वितरण केन्द्र अन्तर्गत झण्डै ४० हजार ग्राहक संख्या रहेका छन् ।

प्रतिकृया दिनुहोस्