झापा, ३० असार । झापाका दुई छुट्टछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक र अर्का एक बृद्ध रहेका छन् । गौरादह नगरपालिका वडा- २ हाँसखोरा टोल निवासी १३ वर्षिय एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ ।
बालक एन्जलको स्थानीय कृष्णे खोलामा पौडी खेल्ने क्रममा शनिवार डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । गोविन्द ताजपुरियाका छोरा एन्जल ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा- ६ मा अध्ययनरत थिए । पौडी खेल्दा खेल्दै एन्जल बेपत्ता भएपछि उनीसंगै गएका ४ जना साथीहरु आत्तिदै नजिकैको गाउँतिर खबर गर्न गएका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि दमक लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, झापाको शिवसताक्षी- १० स्थित कनकाई नदीमा एक पुरुषको शव फेला परेको छ । कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिणमा पानीमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । आज साँझ ६ बजेतिर घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अन्दाजी ७० वर्षको जस्तो देखिने दौरा लगाएको अवस्थामा कपाल फुलेको मंगोलियन समुदायको बृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कट्वालले बताए । उनले पानी खाएर शव फुलेको र शरीरमा कुनै पनि चोटपटक नदेखिएको जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि दमक पठाइएको छ ।