News Portal

सदस्यलाई थाहै नदिई एनएमसीले झिकिदियो पैसा

रातोपोस्ट संवाददाता
३५५३ पटक

मेचीनगर, साउन १ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले पूर्वसूचना नै नदिइ ग्राहकको खाताबाट सात सयका दरले रकम कटौती गरेको खुलेको छ । राहत कोषमा सदस्यले दिने योगदान भनेर जानकारी नै नदिइ खाताबाट रकम काटेको संस्थाका सदस्यहरुले गुनासो गरेसँगै रकम कटौती गरेको विषय खुल्न आएको हो ।

आफ्नो खातामा रहेको रकम चेक गर्ने क्रममा खाताबाट रकम काटिएको थाहा पाएसँगै मेचीनगर १४ का डिल्लीराम उप्रेती आश्चर्यमा परे । उनलाई खाताबाट रकम किन काटियो ? कुन प्रयोजनमा काटियो ? कुनै अत्तोपत्तो भएन । त्यसपछि संस्थाको चारआली शाखामा सम्पर्क गरेर बुझ्दा त्यहाँका कर्मचारीले ‘माथीबाटै काटिएको’ भन्ने जवाफ दिए । उनी अन्योलमा परे । ‘सिस्टम अनुसार माथिबाटै काटिएको हो, विस्तृत हामीलाई पनि जानकारी छैन । हामीले पनि एकैचोटी रकम काटेको मात्रै थाहा पाएका हौँ,’ उप्रेतीले चारआली शाखाबाट पाएको जवाफ यसरी सुनाए । अहिले पनि उनी कुन प्रयोजनका लागि रकम काटियो भनेर अन्योलमा छन् ।

मेचीनगर १४ का उप्रेती मात्रै होइन रकम काटिएको बारे अधिकांश सदस्यलाई जानकारी नै छैन । जसका कारण एनएमसीले रकम काटेको विषय सामाजिक संजालमा छाइरहेको छ, आलोचना पनि उत्तिकै भइरहेको छ । मेचीनगर ५ का निर्मल सुवेदी पनि सूचना नै नदिइ रकम काटेको भन्दै गुनासो पोख्छन् । ‘आफ्नो खाताबाट रकम काट्दा हामीलाई थाहा हुनुपर्ने होइन ? किन थाहा दिइएन ?’ जानकारी नै नदिइ रकम काटेको बारे उनी प्रश्न गर्छन् । मेचीनगर ६ कै एकजना युवाले समेत आफुलाई थाहा नै नदिइ रकम काटेको र के प्रयोजनका लागि रकम काटियो भनेर कलेक्सनमा आउने कलेक्टरलाई सोध्दा उनले ‘मलाई नै थाहा छैन’ भन्ने जवाफ पाएको बताए ।

‘कलेक्टरलाई सोधेको थिएँ, उनले त मलाई नै थाहा छैन मेरै खाताबाट काटिएको छ भन्ने जवाफ पो दिइन्,’ उनले भने । प्रत्येक ग्राहकबाट यसरी रकम काट्दा ९–१० करोड रकम संस्थालाई प्राप्त हुने भएकाले उक्त रकम के मा खर्च हुन्छ ? कुन प्रयोजनका लागि प्रयोग गरिन्छ ? यसबारे सबैलाई जानकारी हुनुपर्ने तर, जानकारी नहुनु गम्भीर विषय रहेको उनको भनाई छ । यसैगरी सामाजिक संजाल मार्फत प्रश्न गर्दै आम सदस्यसँग प्रत्यक्ष जोडिएको विषयमा संस्थाले चाँडै जवाफ दिनुपर्ने सदस्यहरुको माग छ । यता यस विषयमा बुझ्दा संस्थाका कर्पोरेट प्रशासन विभाग, प्रमुख चेतन शर्मा पौडेलले सदस्य भलाइ कोषका लागि रकम काटिएको बताए । गतबर्षसम्म सदस्यको शेयर बोनसबाट काटिने गरेको बताउँदै यसपालि भने नीति परिमार्जन गरेर खाताबाट काटिन थालेको उनले जानकारी दिए ।

रकम काटिने कुरा सदस्यलाई जानकारी नै नभएको सम्बन्धमा भने उनले मोबाइल नेटवर्कमा समस्या भएर संस्थाले पठाएको एसएमएस सदस्यसम्म नपुगेको स्वीकारेका छन् । ‘हामीले सबैलाई एसएमएस गरेर जानकारी दिएका हौँ, नेटवर्कका कारण सदस्यसम्म पुगिसकेको छैन । एसएमएस जाने क्रम चलिरहेको छ,’ उनले भने । सदस्यहरुबाट काटिएको उक्त रकम सदस्यहरुलाई नै विपद् पर्दा खर्च गरिने उनले जानकारी दिए । ‘मृत्यु लगायत अन्य विपदहरु पर्दा सदस्यहरुकै लागि यस रकम खर्च हुन्छ, यदि कोहि सदस्य यस कोषमा बस्न इच्छुक हुनुहुन्न भने एउटा निवेदन लेखेर दिनुपर्छ हामी रकम फिर्ता गरिदिन्छौँ,’ उनले भने ।

संस्थाको पछिल्लो अद्यावधिक विवरण अनुसार संस्थामा एक लाख ५२ हजार सदस्य रहेका छन् । हाल ८० हजार सदस्यको खातामा रकम रहेकाले कोषका लागि ७ सयका दरले रकम काटिएको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीको भनाई छ । आन्तरिक नीतिगत निर्णयअनुसार नै सदस्यको रकम काटिएको र सिस्टमले समस्या भएको उनको भनाई छ । सो रकमबाट सदस्यको मृत्युमा ५० हजार, एकाघर परिवारमा सुध्याईं खर्चबापत १० हजार लगायतका कार्यक्रम रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्