News Portal

झापाका राईसहित ९ जनालाई ५२ लाख ७५ हजार नक्कली नोटसहित पक्राउ

रातोपोस्ट संवाददाता
३२९ पटक

काठमाडाैँ, २६ साउन । काठमाडाैँ र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

बिहीवार लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएको अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप हजार दरका १७ लाख दुई हजार नक्कली रुपैँया बरामद गरिएको थियो ।

एसएसपी कार्कीले भने, ‘उनीहरुबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ । उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ ।’ सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो । सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली संलग्न रहेकाे जनाइएकाे छ । पक्राउ परेका उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्