बाहुनडाँगी, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाले बाहुनडाँगीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । आज मेचीनगर–४ को वडा कार्यालय परिसरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो । शिविरको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए । रोटरी काँकरभिट्टाका पूर्व अध्यक्ष समेत रहेका प्रमुख अतिथि तामाङले रोटरीले सामाजमा विभिन्न क्षेत्रमा सक्रिय भएर काम गरिरहेको बताए । उनले यस्ता प्रकारका स्वास्थ्य शिविर ग्रामिण भेगमा सञ्चालन गरिरहन आग्रह गरेका छन् ।
कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले आँखा जाँच शिविर लगायतका स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न संघ–संस्थाहरुलाई आग्रह गरेका छन् । ग्रामिण क्षेत्रका स्थानीयबासीलाई लक्षित गरेर आँखाको जाँच शिविर आयोजना गरिएको रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीले जानकारी दिए । उनले यसअघिदेखि नै स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा रोटरीले काम गरिरहेको बताए ।
शिविरमा बाहुनडाँगी बजार लगायत आसपासका क्षेत्रका स्थानीयबासीहरु आँखाको जाँच गराइरहेका छन् । शिविरमा प्राविधिक सहयोग काँकरभिट्टा आईकेयर सेन्टर, रोट्रयाक र वडा कार्यालयको सहयोग रहेको छ । काँकरभिट्टा आईकेयर सेन्टरका डाक्टर रोशन थापाको नेतृत्वको टोलीले शिविरमा आँखाका विरामीहरुलाई सेवा प्रदान गरिरहेका छन् ।
रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष कृष्ण पौडेलले र सञ्चालन सचिव भगिरथ राईले गरेका थिए । विहान १० वजेदेखि सुरु भएको शिविर साँझ ५ वजेसम्म सञ्चालन हुनेछ । शिविरमा औषधि र चश्मा पनि नि:शुल्क वितरण गरिएको छ ।