News Portal

नेकपा झापाद्वारा एमसिसी विरुद्ध विरोध प्रदर्शन

रातोपोस्ट संवाददाता
३५९ पटक

झापा, ११ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता कार्यान्वयनका विरुद्ध विरोध प्रदर्शन गरेको छ । ब्याख्यात्मक टिप्पणीका नाममा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट अनुमोदन गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार गरेको र अहिले कार्यान्वयन गर्न खोजेको विरुद्ध प्रदर्शन गरेको हो ।

आइतबार बिर्तामोड स्थित पश्चिम बस स्टेशनबाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक इलाम स्टेशन हुँदै पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे ।विरोध सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय सीले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै इन्चार्ज सीले सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता कुनै हालतमा कार्यान्वयन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण, संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनले ठोकुवा गरे ।

एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै उनले कुनै पनि हालतमा एमसीसी कार्यान्वयन गर्न नदिने उद्घोष गरे । पछिल्लो समय अमेरिकीहरुकै इशारामा एमसिसी कार्यान्वयन गराउने मौका छोपी धरानमा गाई गोरु काण्ड र प्रदेशको नामको विषयमा जनताको ध्यान केन्द्रीकृत गरेको र जनताले दलालहरुको षड्यन्त्र बुझ्नुपर्ने उनले बताए ।

विरोध सभामा बोल्दै उनले सम्पूर्ण जनता एमसिसीको विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न र यसको विरुद्ध हरेक जनताले घरघरबाट हतियार लिएर अमेरिकी साम्राज्यवाद विरुद्व निस्कनुपर्ने बताए । एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने र एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने र आफुहरु त्यसका लागि तयार रहेको बताए ।

कार्यक्रममा राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर !, राष्ट्रघाति दलालहरू होसियार, राष्ट्रिय स्वाधीनताको रक्षा गरौ ! लगायतका नारा लगाईएको थियोे । पछिल्लो समय नेकपाले झापासहित देशभर एमसिसीका विरुद्ध आन्दोलन गरिरहेको छ । यहि भदौ १४ गतेदेखि एमसिसी कार्यान्वयनका लागि पहिलो चरणको काम सुरु गर्दै छ ।

प्रतिकृया दिनुहोस्