News Portal

नेपालको उत्कृष्ट बलिङ, १०६ रनमै समेटियो बंगलादेश

रातोपोस्ट संवाददाता
८६ पटक

काठमाडौं, ३ असार । टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।

सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पूरा गर्ने विश्वको दोस्रो र पहिलो नेपाली खेलाडी बने । आज पनि टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको थियो । यो निर्णयलाई सही साबित गर्दै सोमपाल कामीले नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । उनले पहिलो बलमै तान्जिद हसनलाई आउट गरे । उनले आफ्नै बलमा तान्जिनको क्याच लिएका थिए । दोस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएपछि बङ्गलादेश दवावमा आयो ।

नेपालका कप्तान रोहित पौडेलले विश्वकपमा पहिलो पटक आफूलाई बलिङमा उतारे र सफल पनि भए । दुई विकेट लिएका उनले बंगलादेशको सबैभन्दा महत्त्वपूर्ण विकेटका रूपमा उनले सकिब अल हसनलाई आउट गरेका थिए । सकिबले २२ बलमा १७ रन बनाए । नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेले आफ्नो साख जोगाउन सफल भए ।

पहिलो दुई ओभरमा १४ रन खर्चेका उनले पछिल्लो दुई ओभरमा उत्कृष्ट कम ब्याक गर्दै दुई विकेट लिन सफल भए । उनले ४ ओभरमा १७ रन मात्र खर्चिए । अर्का स्पिनर दीपेन्द्रसिंह ऐरीले फेरि एक पटक प्रभावशाली प्रदर्शन गरे । उनले ३/३ ओभर बलिङ गर्दै २२ रन खर्चेर दुई विकेट लिए । नेपालका बलिङमा कुनै पनि बङ्गलादेशी ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

नेपालले नियमित विकेट लिइरहँदा बङ्गलादेशले रनका लागि संघर्ष गर्नुपर्‍यो । २० ओभरको खेलमा बङ्गलादेशी ब्याट्सम्यानले एउटा मात्रै छक्का हान्न सकेका थिए । तर १८ औँ ओभरमा अविनाश बोहरा केही महँगा बने । ८८ बलमा ९ विकेट गुमाएको अवस्थाबाट बङ्गलादेश १०६ रनसम्म लम्किन सफल भयो ।

प्रतिकृया दिनुहोस्